१६ वर्षीय सोनामद्वारा बाबुसँगै सगरमाथाको सफल आरोहण
काठमाडौँ – ताप्लेजुङका १६ वर्षीय सोनाम शेर्पाले आफ्ना बाबुसँगै सगरमाथाको सफल आरोहण गर्नु भएको छ । आइतबार बिहान ८स्५० बजे सोनाम र उनहाँका बाबु पूर्णकुमार (पिके) शेर्पाले सफल आरोहण गरेको हिमालयन गाइड्स नेपाल ट्रेक एन्ड एक्सपिडिशन प्रालिका प्रबन्धक ईश्वरी पौडेलले जानकारी दिएनुभयो ।
दुवै जना उक्त प्रालिमार्फत आरोहणका लागि जानुभएको थियो । ‘फादर एण्ड सन क्लाइमेट चेन्ज क्याम्पेन एक्सपेडिशन २०२१’ नाम दिएर सोनाम आवश्यक तयारीका लागि एक महिनाअघि नै सगरमाथा बेस क्याम्प पुुग्नुु भएको थियो ।
पिके गत वैशाख २४ गते अनुमति पत्र लिएर सगरमाथा आरोहणका लागि जानुभएको थियो । मौसममा आएको खराबीले केही दिन बेस क्याम्पमै रहेको र मौसम खुलेसँगै अघि बढेका बाबुछोराले आज आरोहण गर्न सफल भएको पौडेलले बताउनुभयो ।
यता, पर्यटन विभागले समेत उहाँहरुले आरोहण गरेको सूचना आएको जनाएको छ । ‘पिके शेर्पा र उहाँका छोरा दुवैले आरोहण गरेको भन्ने बेस क्याम्प र त्यस माथिबाट हामीलाई सूचना आएको छ’, पर्वतारोहण विभागकी निर्देशक मीरा आचार्यले भन्नुभयो । उहाँका अनुसार एक्सपेडिशन रिपोर्ट आएपछि विभागले छानविन गर्ने र आरोहण पुष्टि भए आधिकारिकता प्रदान गरिने छ ।
यस्तै सोनाम सबैभन्दा कान्छो आरोही हुन सक्ने आचार्यको भनाइ छ । अहिले नै यसै हो भनेर भन्न नसकिने उनले स्पष्ट पारिन् । ‘१६ वर्ष मुनिकाले आरोहण गर्न पाउँदैनन्, उहाँ १६ वर्ष पूरा भएर आउनुभएको थियो, पूर्णरुपमा डकुमेन्ट हेरेर छानबिनपछि मात्र भन्न सकिन्छ’, आचार्यले भन्नुभयो ।
विसं २०६१ फागनु १५ गते जन्मिएका शेर्पाले गत चैत २६ गते मात्रै जिल्ला प्रशासन कार्यालयबाट नागरिकता लिएको प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले जानकारी दिनुभयो ।हालसम्म १३० भन्दा बढी आरोहीले सगरमाथाको सफल आरोहण गरिसकेको निर्देशक आचार्यले बताउनुभयो ।
