आफैं खोप किन्न रामपुर नगरपालिकाले माग्यो स्वास्थ्य मन्त्रालयसँग अनुमति
पाल्पा – पाल्पाको रामपुर नगरपालिकाका मेयर रमणबहादुर थापाले आफैं कोरोना महामारीविरुद्ध आफैं खोप खरिद गर्ने भन्दै अनुमति माग गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आइतबार निवेदन दिनु भएको छ ।
सरकारले खोप उपलब्ध गराउन समय लागेपछि भारतबाट आफैंले समन्वय गरेर खोप ल्याउन स्वास्थ्य मन्त्री हृदयेश त्रिपाठीसँग भेटेर अनुमति मागेको थापाले बताउनु भयो ।
‘रामपुर नगरपालिकाले आफ्ना सम्पूर्ण नागरिकलाई कोभिड–१९ विरुद्धको खोप चाहेका छौं । यसका लागि यसअघि नेपाल सरकारले खरिद गरेको मूल्य र मापदण्डअनुसार ५० हजार डोज खोप खरिद गर्न स्वास्थ्य मन्त्रालयसँग अनुमति मागेका छौं,’ मेयर थापाले भने, ‘स्वास्थ्यमन्त्रीज्यूलाई भेटेर निवेदन दिएका छौं । उहाँ सकारात्मक हुनुहुन्छ ।’
मेयर थापाले भारतमा रहेका रामपुर वडा नम्बर ७ का सन्दीप रानाले खोप ल्याउन समन्वय गर्न सक्ने भनेकाले खोप खरिद गर्न अनुमति मागिएको बताउनु भयो ।
अन्तर्राष्ट्रिय बिपी चिन्तन प्रतिष्ठानका अध्यक्षसमेत रहेका सन्दीपसँगको समन्वयमै खोप खरिदको प्रक्रिया अगाडि बढाइएको र खर्चको प्रवन्ध पनि पालिकाले नै गर्ने मेयर थापाको भनाइ छ । उहाँले भन्नु भयो ‘कि संघीय सरकारले समयमै उपलब्ध गराइदिनुपर्यो, होइन भने हामी नै खरिद गर्छौं अनुमति दिनुपर्यो ।’
