सरकारले कोरोना उपचारलाई ३१.६ अर्ब ऋण लिने
काठमाडौं-कोरोना संक्रमण उपचारका लागि सरकारले थप ३१ अर्ब ६० करोड रूपैयाँ ऋण लिने भएको छ। यसमध्ये विश्व बैंकले ३ अर्ब ४० करोड ऋण दिइसकेको छ भने कोभिड १९ खोप व्यवस्थापनका लागि थप ९ अर्ब ऋण सहायता उपलब्ध गराउन हस्ताक्षर भइसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले जानकारी दिनु भएको छ ।
यसैगरी एसियाली विकास बैंकले १९ अर्ब २० करोड ऋण दिने भएको मन्त्री त्रिपाठीले बताउनु भयो ।यसअघि नै कोभिड १९ व्यवस्थापनका लागि विभिन्न देशले २ अर्ब बराबरको स्वास्थ्य सामग्री उपलब्ध गराइसकेका छन्। त्यसैगरी विभिन्न अन्तर्राष्ट्रिय बैंक तथा सरकारले ७ अर्ब ४२ करोड ऋण दिइसकेका छन्।
यसमा जापान सरकारको ५ अर्ब २२ करोड (उपकरणसहित), जर्मन सरकारको ४२ करोड, एसियाली विकास बैंकको ३६ करोड र विश्व बैंकको ४२ करोड छ। अरू देश तथा संघसंस्थाबाट सहयोग प्राप्त हुने क्रम जारी रहेको मन्त्रालयले जनाएको छ।यो समाचार आजको नागरिक दैनिकमा छ ।