आज बुद्ध जयन्ती, किरात समुदाय उभौली मनाउँदै
काठमाडौं – वैशाख शुक्ल पूर्णिमा अर्थात् बुद्ध जयन्ती। देशभर विविध कार्यक्रम आयोजना गरी २५६५ औँ बुद्ध जयन्ती मनाइँदैछ। गौतम बुद्धको जन्म, बुद्धत्व प्राप्ति र महापरिनिर्वाण प्राप्ति भएको त्रिसंयोग परेको दिनको रूपमा यसको महत्त्व छ।तर कोरोनाका कारण यसवर्ष लुम्बिनीमा समेत दीप प्रज्वलनबाहेकका अन्य विशेष कार्यक्रमहरू नहुने भएको छ ।
हालको लुम्बिनी क्षेत्रमा इसापूर्व ५६३ अर्थात् करिब दुई हजार ६०० वर्षअघि राजा शुद्धोधन र रानी मायादेवीको सुपुत्रका रूपमा जन्मनु भएको थियो । सुरुमा उहाँको नाम सिद्धार्थ राखिएको थियो। उहाँ२९ वर्षका उमेरमा दरबार त्यागी ज्ञानको खोजीमा लागेका थिए। ६ वर्षको तपस्यापछि ३५ वर्षको उमेरमा इसापूर्व ५२८ मा सिद्धार्थलाई भारतको बौद्धगयामा बुद्धत्व प्राप्ति भयो। यसपछि उहाँले बुद्धका रूपमा विश्वभर प्रसिद्धि पाउनु भयो ।
गौतम बुद्धले बताएको आर्य अष्टाङ्गिक मार्गमा सम्यक् दृष्टि, सम्यक् सङ्कल्प, सम्यक् वचन, सम्यक् कर्म, सम्यक् जीविका, सम्यक् व्यायाम, सम्यक् स्मृति र सम्यक् समाधि प्रज्ञा, शील र समाधि पर्छन्। यसैगरी पञ्चशीलमा चोरी नगर्नु, झुठो नबोल्नु, यौन व्यभिचार नगर्नु, मद्यपान नगर्नु र हिंसा नगर्नु रहेका छन्। बुद्धलाई शान्तिका अग्रदूत, एसियाका ज्योतिलगायत उपमा दिने गरिएको छ।
बुद्ध जयन्तीका अवसरमा विगतका बर्षमा काठमाडौँको बौद्ध, स्वयम्भू, चारुमती विहार, लुम्बिनी, काभ्रेपलाञ्चोकको नमोबुद्धलगायत स्थानका बौद्ध बिहार, गुम्बा, स्तूप, चैत्यमा बुद्धवाणीसम्बन्धी प्रवचन, शोभायात्रा र शान्ति पदयात्रा लगायतका कार्यक्रम हुन्थ्यो तर कोभिडको कारण यसपालि औपचारीक सबै कार्यक्रम सबै स्थिगित भएका छन ।
किरात समुदाय उभौली मनाउँदै
किरात समुदायको उभौली चाड पनि यसैदिन मनाइन्छ। यस्तै सनातन हिन्दु धर्मावलम्बीहरूमध्ये केहीले यसै दिन देवाली, गोठधुप गर्छन्। किरात समुदायमा बैशाख शुक्ल पूर्णिमाको दिन उभौली पर्व र मंसिर शुक्ल पूर्णिमाको दिन उधौली पर्व मनाउने गरिन्छ। राजधानीमा भने ललितपुरको सानो हात्तीवनमा रहेको ऐतिहासिक तीर्थस्थलमा पुगेर किरात पर्व उधौली विशेष रुपमा मनाउने गरिन्छ।