कोरोनाबाट सुदूरपश्चिमका पूर्व प्रदेश प्रमुख मल्लको निधन
धनगढी – कोरोना भाइरसको संक्रमणबाट सुदूरपश्चिमका पूर्व प्रदेश प्रमुख मोहनराज मल्लको निधन भएको छ । कैलालीका स्थायी बासिन्दा मल्लको काठमाडौँमा उपचारका क्रममा निधन भएको उनका भतिजा रुपक मल्लले पुष्टि गर्नु भएको छ ।
‘उहाँलाई एक हप्ता पहिले कोरोना संक्रमण देखिएको थियो,’ उहाँले भन्नुभयो , ‘काठमाडौँमा उपचार गराइरहनु भएको थियो । हिजो राति ११ बजेतिर मृत्यु भयो ।’ निमोनिया र मुटुसम्बन्धी समस्याले ग्रसित मल्लको बिहीबार अन्त्येष्टि गरिने बताइएको छ ।
पूर्व राष्ट्रिय पञ्चायतका सदस्य समेत रहनुभएका मल्ल काँग्रेसमा प्रवेश गनूृ भएको थियो ।तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाको पालामा उहाँ सुदूरपश्चिम प्रदेश प्रमुखमा नियुक्त हुनुभएको थियो । तत्कालीन शेरबहादुर देउवा नेतृत्वको चुनावी सरकारले २०७४ माघ ३ गते प्रदेश प्रमुखहरु नियुक्त गरेको थियो ।
त्यसको करिब दुई वर्षपछि २०७६ सालको कार्तिकमा केपी शर्मा ओली नेतृत्वको सरकारले मल्लसहित सबै प्रदेश प्रमुखहरूलाई पदमुक्त गरेको थियो ।