एसईई परीक्षा आन्तरिक मूल्यांकनबाट गराउन शिक्षा मन्त्रालयको प्रस्ताव
काठमाडौं – शिक्षा मन्त्रालयले माध्यमिक शिक्षा परीक्षा (एसईई) आन्तरिक मूल्यांकन विधि अनुसार गराउने प्रस्ताव मन्त्रिपरिषदमा लैजाने निर्णय गरेको छ ।
सोमबार बसेको मन्त्रालयको बैठकले एसईई परीक्षाको आन्तरिक मूल्यांकन विधि अनुसार गराउने प्रस्ताव मन्त्रिपरिषदमा पठाउने निर्णय गरेको शिक्षामन्त्रीका प्रेस संयोजक ईश्वरराज ढकालले जानकारी दिनुभयो ।
‘मन्त्रालयको बैठकले आन्तरिक मूल्यांकन विधि अर्थात् गत वर्षकै विधि अनुरुप गराउने प्रस्ताव मन्त्रिपरिषदलाई पठाउने निर्णय गरेको छ,’ उहाँले भन्नुभयो ।
गत वर्ष विद्यालयको प्रधानाध्यापक, कक्षा शिक्षक र अनुभवी शिक्षक गरी तीन सदस्यीय मूल्यांकन समिति गठन गरी पहिलो त्रैमासिक अवधिको मूल्यांकन १० प्रतिशत, दोस्रो त्रैमासिक अवधिको मूल्यांकन ३० प्रतिशत र शैक्षिक सत्रको अन्त्यसम्ममा निर्धारित सबै विषयवस्तु मूल्यांकन भएको थियो ।
मूल्यांकन विवरण तयार गर्न राष्ट्रिय परीक्षा बोर्डले एसईई कक्षा १० को मूल्यांकन, नतिजा प्रकाशन तथा प्रमाणीकरण कार्यविधि, २०७७ जारी गरेको थियो । जस अनुसार मूल्यांकन समितिले राष्ट्रिय परीक्षा बोर्डले तोके अनुरुप विद्यार्थीको प्राप्ताङ्क शिक्षा विकास तथा समन्वय इकाईमा बुझाएपछि सम्बन्धित शिक्षा विकास तथा समन्वय इकाईहरुले उक्त विवरण राष्ट्रिय परीक्षा बोर्डमा पठाएको थियो ।समितिले बुझाएको विद्यार्थीको प्राप्ताङ्कको आधारमा बोर्डले परीक्षाफल तयार गरी प्रमाणपत्र जारी गरेको थियो ।