एमाले स्थायी कमिटी बैठक बालुवाटारमा शुरू
काठमाडौं – नेकपा (एमाले) को स्थायी कमिटी बैठक प्रधानमन्त्री निवास बालुवाटारमा शुरू भएको छ।भर्खरै शुरू भएको बैठकमा राष्ट्रिय सभाको उपनिर्वाचनका नतिजा, पार्टीका आन्तरिक गतिविधि, आगामी आर्थिक वर्ष २०७८/०७९ को बजेट समीक्षा लगायतबारे छलफल हुनेछ।
विहान ११ बजे नै प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्न लागेको एमाले कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिएका थिए। तर, निर्धारित समयभन्दा झण्डै २ घण्टा ढिला गरी बैठक शुरू भएको हो।
यसअघि आइतबार आन्तरिक कारण भन्दै तथा सोमबार लुम्बिनी प्रदेशको राष्ट्रिय सभा निर्वाचनका कारण बैठक स्थगित गरिएको थियो। बैठकमा विशेष गरी शनिबार अध्यादेशमार्फत् ल्याइएको बजेटको समीक्षा तथा पार्टीको आन्तरिक वातावरणबारे छलफल हुने उहाँको भनाइ छ।
बैठकमा यसअघिको बैठकले १२ जना सांसदलाई स्पष्टीकरण सोधेको र उनीहरूलाई के कारबाही गर्ने भन्नेबारे पनि निर्णय हुनसक्ने तामाङले बताएका छन्।
१२ जनालाई के कारवाही गर्ने भन्ने बारेमा र लुम्बिनी प्रदेशको निर्वाचनका बारेमा पनि समीक्षा हुने तामाङले जनाकारी दिए। स्पष्टीकरण सोधिएकाहरूमा घनश्याम भूसाल, सुरेन्द्र पाण्डे, विरोध खतिवडा, जीवनराम श्रेष्ठ, सोमप्रसाद पाण्डे, कृष्णलाल महर्जन, झपट रावल, भवानी प्रसाद खापुङ, यज्ञ सुनुवार, मेटमणि चौधरी, दीपकप्रकाश भट्ट र नारायण खतिवडा रहनुभएको छ ।
उहाँहरूले लिखित रुपमा कसैले जवाफ नपठाए पनि कतिपयले मौखिक रुपमा नेतृत्वसँग छलफल गरेको पनि जनाकारी दिनुभयो ।यसअघि एमाले संस्थापन पक्षले वरिष्ठ नेता माधव नेपाल, झलनाथ खनाल, उपाध्यक्ष भीम रावललगायत ११ जनालाई साधारण सदस्य समेत नरहने गरी कारबाही गरेको छ।