बिना अनुमति १५ हजार कोरोनिल ट्याबलेट नेपाल ल्याइयो
काठमाडौं – कोरोना विरुद्धको औषधि दाबी गरिएको कोरोनिल अनधिकृत रुपमा नेपाल भित्र्याइएको छ।भारतमा निकै विवादित बनेको यो आयुर्वेदिक औषधि अनुमति नै नलिइ नेपाल ल्याइएको हो।
भारतीय आयुर्वेद संस्था पतञ्जलीले बनाएको यो औषधि विश्वभर विवादित बनिरहेको बेलामा नेपालमा भने विना दर्ता १५ हजार ट्याब्लेट भित्रिएको पाइएको हो।
औषधि व्यवस्था विभागले समेत गत वर्ष नै यसलाई अनुमति दिन रोकेको थियो। अहिले पनि कोरोनिललाई नेपालमा विक्री वितरण र प्रयोगका लागि कुनै अनुमति नदिइएको विभागका सूचना अधिकारी सन्तोष केसीले बताउनु भयो ।
उहाँले भन्नु भयो ‘अहिले केही कागजातहरु दर्ताका लागि पेस भएका छन् तर दर्ता भइसकेको छैन, हामीले पनि सो औषधि भित्रिएको छ भन्ने सुनेका छौँ।‘
पतञ्जली योग पीठ नेपालका ट्रस्टि शालिकराम सिंहले भने अनुमति लिएर नै सो औषधि ल्याइएको बताए। ‘हामीले अनुमती लिएर नै कोरोनिल औषधि ल्याएका हौँ‘ उहाँले भन्नु भयो ।
नेपालमा कुनै पनि औषधि प्रयोग गर्न ल्याउनुपूर्व औषधि व्यवस्था विभागबाट स्वीकृती लिनुपर्छ। दिव्य कोरोनिल ट्याब्लेटु नाम दिइएको यो आयुर्वेदिक औषधि भारतमा नै प्रतिबन्धित छ।