Connect with us
Kapilvast Forest

तेलमा ३१ देखि ४५ प्रतिशतसम्म मूल्य वृद्धि

२०७८, २२ जेष्ठ शनिबारमा प्रकाशित

 

विराटनगर- उत्पादकले भान्सामा प्रयोग हुने तेलको मूल्यमा अस्वाभाविक वृद्धि गरेको विषयलाई वाणिज्य तथा आपूर्ति विभाग र मातहतका कार्यालयहरूले सूक्ष्म अध्ययन थालेका छन् । अन्तर्राष्ट्रिय बजारमा तेलको कच्चा पदार्थमा भएको मूल्य वृद्धिका कारण नेपालमा समेत चालू आर्थिक वर्ष २०७७/७८ भित्रै अस्वाभाविक मूल्य वृद्धि भएपछि उद्योगसँग कागजात माग गरेर अध्ययन थालिएको हो ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण हित कार्यालय विराटनगरका प्रमुख सन्तोष पोखरेलले तेल उत्पादक उद्योगीहरूसँग कच्चा पदार्थको आयातको प्रज्ञानपत्र र प्रशोधनपछिको मूल्यान्तर अध्ययनका लागि कागजात मगाइएको जानकारी दिनुभयो ।

तेलको मूल्यमा अस्वभाविक वृद्धि हुने विषय अन्तर्राष्ट्रिय बजारसँग सम्बन्धित छ कि छैन ? भनेर प्रतीतपत्र, प्रज्ञानपत्र र उत्पादित वस्तुको कायम मूल्यको अध्ययन गरिएको पोखरेलको भनाइ छ । विभागले उत्पादन लागतमा कच्चा पदार्थको मूल्यको हिस्सा कति छ ? भनेर उद्योगीसँग लिखितै कारणसहितको विवरण माग गरेको छ । मातहतका कार्यालयहरूले मूल्य वृद्धिका अन्य कारक यथावत् रहेकै अवस्थामा आयात गर्नुपर्ने कच्चा पदार्थको मूल्यमा भएको वृद्धिले उत्पादित वस्तुको मूल्यमा पारेको प्रभावको अध्ययन गरिरहेको हो ।

सुनसरी–मोरङ औद्योगिक करिडोरमा सनफ्लावर र खानेतेल उत्पादन गर्ने उद्योगहरूको पछिल्लो एक वर्षको अवस्था अध्ययन गरेर त्यसको प्रतिवेदन विभागलाई पठाउने अन्तिम तयारी भएको पोखरेलले जानकारी दिनुभयो । चालू आवको साउनमा कायम मूल्यका आधारमा करिडोरका उद्योगले घटीमा ३१.५ प्रतिशतदेखि बढीमा ४५ प्रतिशतसम्म मूल्य वृद्धि गरेको अध्ययनका क्रममा पाइएको पोखरेलले जानकारी दिनुभयो ।

सूर्यमुखी तेल उत्पादन गर्ने चार र तोरी तेल उत्पादन गर्ने दुई उद्योगको कागजात अध्ययन गरेको कार्यालयले चालू आवको साउनमा आयात गरिएको कच्चा पदार्थ (क्रुड आयल) र गत वैशाखमा त्यही आयात गर्दा परेको मूल्यको अन्तर प्रज्ञानपत्रका आधारमा अध्ययन गरेको छ । चालू आवको साउनमा प्रतिलिटर ९४ देखि १०१ रुपियाँ मूल्यमा आयात गरिएको कच्चा पदार्थको गत वैशाखमा प्रतिलिटर १४४.६७ देखि १६५.८२ रुपियाँ मूल्य परेको अध्ययनका क्रममा देखिएको छ ।

करिडोरको स्वस्तिक आयल इन्डस्ट्रिजले साउनमा १०१ रुपियाँमा कच्चा पदार्थ आयात गर्दा तेलको मूल्य १९० रुपियाँ कायम गरेको थियो । त्यही उद्योगले गत वैशाखमा प्रतिलिटर १६२ रुपियाँमा कच्चा पदार्थ आयात गर्दा हालको तेलको मूल्य प्रतिलिटर २७५ तोकेको छ । यसरी अन्तर्राष्ट्रिय बजारमा कच्चा पदार्थको मूल्यमा ६०.३९ प्रतिशत मूल्य वृद्धि भएका कारण ४४ प्रतिशतले प्रशोधित तेलको मूल्य बढेको देखिएको छ ।

यसैगरी बाबा भेजिटेबल आयल इन्डस्ट्रिज प्रालिले प्रतिलिटर १०३ मा कच्चा पदार्थ आयात गर्दा प्रतिलिटर २०५ रुपियाँमा र हाल प्रतिलिटर १५७ मा आयात गर्दा प्रतिलिटर २७० रुपियाँ मूल्य तोकेको पाइएको छ । करिडोरकै बागमती आयल इन्डस्ट्रिजले साउनमा प्रतिलिटर ९९ रुपियाँमा कच्चा पदार्थ आयात गरेर प्रतिलिटर १८० र अहिले प्रतिलिटर १६५.८२ रुपियाँमा कच्चा तेल आयात गरेर प्रतिलिटर २६० रुपियाँ प्रशोधित तेलको मूल्य तोकेको देखिएको छ ।

कार्यालयका प्रमुख पोखरेलका अनुसार उत्पादन लागतलाई प्रभाव पार्ने अन्य क्षेत्र विद्युत् महसुल, मजदुर ज्याला, इन्धनको मूल्य यथावस्थामै रहेका बखत कच्चा पदार्थमा बढेको मूल्यका आधारमा कायम भएको मूल्य सरदर नै देखिएको जानकारी दिनुभयो ।

तर, कार्यालयले गरेको क्षेत्रभन्दा व्यापार ढङ्गबाट कच्चा पदार्थमा मात्रै भएको मूल्य वृद्धिले उत्पादन लागतमा पार्ने प्रभावसहितको समग्र विषयमा भने विभागले विशेष अध्ययन गरिरहेको पोखरेलले बताउनुभयो । त्यसमा कच्चा आयात गर्दा अन्तर्राष्ट्रिय बजारमा ढुवानी मूल्यको प्रभाव, आयातको प्रक्रियामा लाग्ने लागतसहितको विषय समेटिने पोखरेलको भनाइ छ ।

नेपालमा भारतसहित ब्राजिल, अर्जेन्टिना, क्यानडा, अस्ट्रेलिया तथा युक्रेनलगायतका देशबाट तेलको कच्चा पदार्थ आयात हुने गरेको छ । उद्योगीहरूले ढुवानीलगायतमा बढेको भाडाका कारण आगामी दशैँसम्म तोरी तेलको मूल्य प्रतिलिटर चार सय रुपियाँ पुग्नसक्ने अनुमान गरेका छन् ।गोरखापत्र  

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu