Connect with us
Kapilvast Forest

लोक सेवाका स्थगित सबै परीक्षा दशैँअघि नै हुने

२०७८, १ असार मंगलवारमा प्रकाशित

काठमाडौं । लोक सेवा आयोगले रोकिएका सम्पूर्ण परीक्षा दशैँअघि गरिसक्ने गरी आन्तरिक तयारी गरिरहेको छ । आयोगमा पदाधिकारी सिफारिस भए पनि नियुक्ति भइनसकेको तथा कोरोना (कोभिड–१९) महामारीका कारण लोक सेवासम्बन्धी परीक्षाको आन्तरिक तयारी मात्रै भएको हो ।

कोरोना महामारीका कारण स्थगित चालू आर्थिक वर्षका सम्पूर्ण परीक्षा सञ्चालन र नियमित कार्यतालिकाअनुसार कसरी अगाडि बढ्ने भन्नेमा आयोगले आन्तरिक तयारी गरेको हो । आयोगमा पदाधिकारी नहुँदा र कोरोनाका कारण खरिदारदेखि सहसचिवसम्मको परीक्षा सञ्चालनमा बाधा पुगेको छ ।

लोक सेवा आयोगका सचिव महेन्द्रप्रसाद गुरागाईंले आयोगका पदाधिकारी सिफारिस भए पनि नियुक्ति भइनसकेकाले आन्तरिक रूपमा मात्रै काम गरिएको बताए । उनले कोरानाका कारण विज्ञापन भएका कतिपय पदको परीक्षा हुन बाँकी रहेको जानकारी दिए । उनले भने, “कोभिड–१९ का कारण रोकिएको परीक्षा अगाडि बढाउने योजना बनाएका छौँ । कोभिड सङ्क्रमण कम भएपछि उपयुक्त समयमा परीक्षा सञ्चालन सुरु गर्ने गरी तयारी गरेका छौँ ।”

चालू आर्थिक वर्षको दरबन्दी पदपूर्ति गर्न पदाधिकारीले नियुक्ति पाउनासाथ थप काम अगाडि बढ्ने उनले स्पष्ट पारे । उनले भने, “निषेधाज्ञा रोकिनु प–यो र विद्यार्थीलाई कम्तीमा पढ्नका लागि एक महिना समय राखेर सूचना निकाल्नु प–यो ।”
साउनमा परीक्षा सञ्चालनको सूचना निकाल्ने तयारी रहेको जानकारी दिँदै उनले कोभिड सङ्क्रमणको अवस्थामा निर्भर गर्ने बताए । सचिव गुरागाईंले भने, “परीक्षा सञ्चालन गर्न सरकारले अनुमति दिने र जोखिम नहुने अवस्था भयो भने जहिलेदेखि हुन्छ त्यहिलेदेखि गर्ने, साउनपछि गर्न सकिन्छ भन्ने योजना बनाएका छौँ ।”
आयोगका प्रवक्ता तोयनारायण सुवेदीले अघिल्लो आर्थिक वर्षको खरिदार पदको प्रवेश परीक्षा भएर मूल परीक्षा रोकिएको जानकारी दिए ।

उनले भने, “चालू आर्थिक वर्षको सबै विज्ञापन आयोगको वार्षिक कार्यतालिकाअनुसार नियमित रूपमा भइरहेको छ तर कुनै पनि पदको परीक्षा भने सञ्चालन भएको छैन । ” गत आर्थिक वर्षमा कोरोनाका कारण रोकिएका परीक्षा यो वर्ष सम्पन्न गरिएको पनि उनले जानकारी दिए ।

सुरुका दुई महिना केही विज्ञापनको विषयमा अदालतमा मुद्दा परेका कारण सहसचिवदेखि खरिदारसम्मको परीक्षा रोकिएको उनले बताए । उनले चैत १० देखि आयोग पदाधिकारीविहीन बन्दा काम रोकिएको स्पष्ट पारे ।
लोक सेवा आयोग २००८ साल असार १ गते स्थापना भएको हो । २००७ सालमा देशमा प्रजातन्त्र स्थापनासँगै निजामती कर्मचारीको नियुक्ति छुट्टै र स्वतन्त्र निकायबाट गर्ने उद्देश्यले आयोग स्थापना गरिएको हो । आयोगले त्यसैअनुरूप कार्यसम्पादन गर्दै आएको छ ।

पछिल्लो संविधानले आयोगलाई अझ बढी जिम्मेवारी दिएको छ । २०७२ सालमा जारी नेपालको संविधानको धारा २४२ मा लोक सेवा आयोगको व्यवस्था गरी जिम्मेवारी दिइएको हो । सोअन्तर्गत नै धारा २४३ मा निजामती सेवाको पदमा नियुक्तिका लागि उपयुक्त उम्मेदवार छनोट गर्न परीक्षा सञ्चालन गर्नु लोक सेवा आयोगको कर्तव्य हुने व्यवस्था छ । यसैगरी निजामती सेवाको पदबाहेकमा पनि आयोगको भूमिका विस्तार गरिएको छ । त्यसअनुसार नेपाली सेना, नेपाल प्रहरी, सशक्त प्रहरी बल नेपाल, अन्य सङ्घीय सरकारी सेवा र सङ्गठित संस्थाको पदमा पदपूर्तिका लागि लिइने लिखित परीक्षा लोक सेवा आयोगले सञ्चालन गर्ने संवैधानिक व्यवस्था छ ।आजको गोरखापत्र दैनिकबाट

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu