Connect with us
Kapilvast Forest

प्रदेश नं २ सरकारले ल्यायो ३३ अर्ब ७९ करोडको बजेट

२०७८, २ असार बुधबारमा प्रकाशित

 

धनुषा- प्रदेश नं २ सरकारले आर्थिक बर्ष २०७८ र ७९ का लागि रु ३३ अर्ब ७९ करोड १४ लाख ३० हजारको बजेट सार्वजनिक गरेको छ ।
आर्थिक मामिला तथा योजनामन्त्री विजय यादवले आर्थिक वर्ष २०७८ र ७९ का लागि मङ्गलबार प्रदेश सभामा बजेट सार्वजनिक गर्दै चालूतर्फ रु १५ अर्ब ६३ करोड ३३ लाख ४७ हजार अर्थात ४६।२६ प्रतिशत, पुँजीगततर्फ रु १८ अर्ब ५ करोड ८० लाख ८३ हजार अर्थात ५३।४४ प्रतिशत र वित्तीय व्यवस्थातर्फ रु १० करोड अर्थात ०।३० प्रतिशत बजेट विनियोजना गरेको जानकारी दिनुभयो ।

बजेटमा आन्तरिक राजस्वबाट रु ३ अर्ब ४ करोड ९१ लाख ३० हजार, नेपाल सरकारबाट प्राप्त हुने अनुदानबाट रु १३ अर्ब ९० करोड ३४ लाख, राजस्व बाँडफाँटबाट रु ९ अर्ब ५८ करोड ८९ लाख र चालू आर्थिक वर्षको बचतबाट रु ६ अर्ब २५ करोड व्यहोरिने उल्लेख गरिएको छ । यसबाट अपुग हुने रु एक अर्ब आन्तरिक ऋण लिने उहाँले जानकारी दिनुभयो ।

बजेटले निर्वाचन क्षेत्र विकास कार्यक्रमका लागि रु २ अर्ब ३५ करोड र प्रदेशका स्थानीय तहलाई वित्तीय हस्तान्तरण गर्न रु तीन अर्ब १६ करोड ५० लाख विनियोजन गरेको छ । यसैगरी कोरोना महामारीका कारण अर्थतन्त्र खस्केको र बेरोजगारी दर बढेकाले बजेटमा स्वास्थ्य, कृषि, शिक्षा, रोजगारी सिर्जना तथा पर्यटनलाई विशेष प्राथमिकता दिएको छ । प्रदेश सरकारले कोरोना महामारी रोकथामका लागि अक्सिजन सिलिण्डर, रेम्डिसिभिर, कोरोना परीक्षण गर्ने किट लगायतका स्वास्थ्य सामग्री खरिद गर्नका लागि रु २० करोड विनियोजन गरेको छ ।

त्यस्तै प्रादेशिक अस्पताल जनकपुरधामलाई उपकरण खरीद गर्न रु १९ करोड विनियोजन गरेको छ । मिर्गौलाका बिरामीको डायलासिस गर्न ३५ वटा डायलासिस मेसिन खरीद गर्न रु १२ करोड विनियोजन गरिएको मन्त्री यादवले जानकारी दिनुभयो ।

उहाँले मुख्यमन्त्री स्वच्छता अभियानका लागि रु ३१ करोड, प्रदेश मुद्रण छापाखाना स्थापनाका लागि रु दुई करोड, नदी नियन्त्रणका लागि रु ३० करोड बजेट विनियोजन गरिएको जानकारी दिनुभयो ।

बजेटले जनकपुरधामको मुजेलियास्थित निर्माण गरिएको मणिपाल कोभिड अस्पताल तथा मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठन पाठन शुरुवात गर्नका लागि भौतिक संरचना निर्माण गर्न रु १० करोड, प्रदेशको शैक्षिक स्तर उकास्नका लागि प्रत्येक जिल्लामा कम्तीमा एउटा नमूना सामुदायिक विद्यालयको विकास तथा विद्यालयको भौतिक संरचना सुधार गर्नका लागि रु २४ करोड बजेट विनियोजन गरेको छ ।

यसैगरी विद्यार्थीको शारिरिक तथा मानसिक विकास गर्ने उद्देश्यले प्रत्येक जिल्लामा खेल मैदान निर्माणका लागि रु आठ करोड, आदिवासी, दलित, जनजाती, मधेश आन्दोलनका शहिद परिवारको छात्रवृतिका लागि रु २ करोड र एक विद्यालय एक नर्स कार्यक्रमका लागि रु एक करोड ५० लाख बजेट विनियोजन गरिएको मन्त्री यादवले जानकारी दिनुभयो ।

बजेटले प्रदेशको प्रत्येक निर्वाचन क्षेत्रमा कम्तीमा ५ किलोमिटर कालोपत्र सडक निर्माणका लागि रु ६७ करोड २० लाख, महेन्द्रनारायण निधि आवास कार्यक्रम सुरुवात गर्नका लागि रु ८ करोड, मझौला सिचाई कार्यक्रमका लागि रु ४१ करोड, नदी नियन्त्रण कार्यक्रमका लागि रु ३० करोड, वडादेखि पालिकाको सदरमुकामसम्मको सडक निर्माणका लागि रु ६८ करोड विनियोजन गरेको छ । यसैगरी बजेटले रामराजा सिंह र गजेन्द्र नारायण सिंहको शालिक निर्माणका लागि रु चार करोड, शहीद दुर्गानन्द झाको शालिक निर्माणका लागि रु २ करोड रकम विनियोजन गरेको छ ।

त्यस्तै बजेटले प्रदेश सरकारको महत्वाकांक्षी योजना ‘बेटी पढाउ बेटी बचाउ’ कार्यक्रमका लागि रु २० करोड तथा पोखरी सौन्दर्यकरणका लागि रु ३२ करोड विनियोजन गरेको छ । प्रदेश नं २ सरकारले चालू आर्थिक वर्षका लागि रु ३३ अर्ब ५६ करोड ९ लाख ८९ हजारको बजेट ल्याएको थियो भने आर्थिक वर्ष २०७६÷७७ का लागि रु ३८ अर्ब ७२ करोड ५६ लाख ६१ हजारको बजेट ल्याएको थियो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu