कर्णालीका तीन मन्त्रीलाई राजीनामा दिन एमालेको निर्देशन
सुर्खेत -एमाले कर्णाली प्रदेश संसदीय दलको बैठकले प्रदेश सरकारमा रहेका तीनजना मन्त्रीलाई तत्काल राजीनामा दिन निर्देशन दिएको छ ।
शुक्रबार बसेको संसदीय दलको बैठकले सरकारमा सहभागी एमाले सांसद अम्मरबहादुर थापा, कुर्मराज शाही र नन्दसिंह बुढालाई फिर्ता बोलाउने निर्णय गरेको प्रमुख सचेतक गुलावजंग शाहले जानकारी दिनु भयो ।
गत वैशाख ३ गते यी ३ मन्त्रीसहित सांसद प्रकाश ज्वालाले फ्लोर क्रस गरेर मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिनु भएको थियो । त्यसपछि शाहीले थापा, शाही र बुढालाई मन्त्री नियुक्त गर्नु भएको थियो ।
नेकपा एमालेले कारबाही गरेपछि पदमुक्त भएका उहाँहरु सर्वोच्च अदालतको आदेशमा पुनर्वहाली हुनु भएको थियो । पुनर्बहाली भएपछि उहाँहरुले फेरि एमाले संसदीय दलको निर्देशन मान्नुपर्ने शाहले बताउनु भयो ।