तनहुँमा जङ्गली जनावरका लागि सामुदायिक वनमा पोखरी
तनहुँ – डिभिजन वन कार्यालय तनहुँले जङ्गली जनावर र मानवबीचको द्वन्द्व न्यूनीकरणको लागि सामुदायिक वनमा १५ वटा पानीको पोखरी निर्माण गरेको छ । जिल्लाको भानु नगरपालिकामा–१२,बन्दिपुरमा दुई र देवघाटमा एक पोखरी निर्माण गरेको हो । डिभिजन वन कार्यालयबाट दश र जिल्ला वन पैदावर समितिबाट पाँच पोखरी निर्माण गरिएको छ ।
जङ्गलमा निर्माण गरिएको पोखरीले मानव र वन्यजन्तुबीचको द्वन्द्व न्यूनीकरणको लागि सहयाेगी जस्तै बन्न पुगेको डिभिजन वन कार्यालय तनहुँका प्रमुख कोमलराज काफ्लेले बताउनुभयो । तनहुँमा वन्यजन्तुले किन मानिस माथि आक्रमण गरिरहेको छ भन्ने विषयमा स्थलगत अनुगमन गर्दा पानीको मुख्य समस्या देखिएको उहाँले बताउनुभयो । वन्यजन्तुलाई चाहिने पानी वनजङ्गल छेउमा नभएपछि पानीकै लागि मानव बस्ती पस्दा दुर्घटना हुने गरेको पत्ता लागेपछि पोखरी निर्माण कार्यलाई प्राथामिकता दिइएको उहाँले बताउनुभयो ।
पोखरी निर्माण गरिएपछि त्यस क्षेत्रमा यस वर्ष जङ्गलमा आगलागी भएको छैन, चराचुरुङ्गीले प्यास मेटाउन पाएका छन् भने हरियालीमा वृद्धि हुँदा घाँस खाएर बाँच्ने प्रजातिका जनावरको आहार व्यवस्थापनमा सहज भएको जनाइएको छ । पानीको अभावमा मानव र वन्यजन्तु द्वन्द्व बढेकाले न्यूनीकरणको लागि चालु आर्थिक वर्षमा पोखरी निर्माण गरिएको हो । कार्यालयले विनियोजन गरेको १२ लाख ५० हजार रुपैयाँमा पोखरी निर्माण गरिएको उहाँले जानकारी दिनुभयो ।
जङ्गलमा पानीको स्रोत संरक्षण तथा पोखरी निर्माण गरी पानीले भरिएपछि वन्यजन्तुलाई पानीको अभाव नहुने र पानीका स्रोतहरु तथा मुहान नसुक्ने, जैविक विविधता संरक्षण, जलवायु अनुकूलन तथा मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापनमा उल्लेख्य योगदान पुग्ने विश्वास गरिएको कार्यालयले जनाएको छ ।
आव २०७४/०७५ देखि २०७७/०७८ तीन वर्षमा तनहुँमा दश बालबालिकाको ज्यान गएको वन कार्यालय तनहुँका प्रशासन शाखाका अधिकृत पुष्प खनालले जानकारी दिनुभयो । वन्यजन्तुको आक्रमणबाट नौ जना घाइते भएका छन्।
घाइतेहरुको अवस्था हेरेर २० हजार रुपैयाँदेखि दुई लाख रुपैयाँसम्म राहत दिने गरिएको उहाँले बताउनुभयो । चितुवाको आक्रमणबाट ज्यान गुमाएकालाई क्षतिपूर्ति बापत एक करोड ५४ लाख १३ हजार ३८ रुपैयाँ राहत वितरण गरेको कार्यालयले जनाएको छ ।
वन कार्यालय तनहुँले जङ्गलमा पोखरी निर्माण गर्न तथा जथाभावी जङ्गलका रुख ढालेर डोजरे विकास नगर्न जिल्लाका दश वटै पालिकालाई आग्रह गरेको छ ।