मेलम्ची र पाँचपोखरीलाई महानगरपालिकाको २ करोड ५० लाख सहयोग
काठमाडौं-काठमाडौँ महानगरपालिकाले बाढीको विपत्तिमा परेको सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका र पाँचपोखरी थाङ्पाल गाउँपालिकालाई आर्थिक सहयोग गरेको छ ।
काठमाडौं महानगरपालिकाले बाढीग्रस्त सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकालाई २ करोड रुपैयाँ र पाँचपोखरी थाङ्पाल गाउँपालिकालाई ५० लाख रुपैयाँ सहयोग गरेको हो । काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले सोमबार सिन्धुपाल्चोक पुगेर सो सहयोग हस्तान्तरण गर्नु भएको हो । सहयोग हस्तान्तरण गर्दै प्रमुख शाक्यले विपतको बेलामा आफुहरुले थोरै भएपनि सहयोग गरेको बताउनुभयो। धेरै क्षति भएको भएपनि माया र आत्मियताको कुनै मुल्य नहुने भन्दै उनले सिन्धुपाल्चोकको विपत्तिमा काठमाडौं महानगरपालिकाको साथ रहेको र आगामी दिनमा पनि साथमै रहने बताउनुभयो ।
सहयोग रकम हस्तान्तरण कार्यक्रममा स्वास्थ्य तथा जनसंख्यामन्त्री शेरबहादुर तामाङको समेत उपस्थिति रहेको थियो । कार्यक्रममा बोल्दै स्वास्थ्यमन्त्री तामाङले विपत ग्रस्त पालिकाहरुले विपत व्यवस्थापनका लागि छुट्टै कोष खडा गर्न अनुरोध गरे ।
मेलम्ची नगरपालिकाका प्रमुख डम्बरबहादुर अर्यालले समयमै नगरबासीलाई सचेत हुन सुचना प्रवाह गरेका कारण मानविय क्षति कम भएको उल्लेख गरे ।
सिन्धुपाल्चोकमा असार १ गतेको बाढीले निकै क्षति पु¥याएको छ । विभिन्न ठाउँबाट राहत संकलन समेत भइरहेको छ ।