साउनबाट अनिवार्य गरिँदै इम्बोस्ड नम्बर
काठमाडौं-सरकारले आगामी साउनदेखि सरकारी तथा निजी सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्ने तयारी गरेको छ । साउनदेखि दर्ता हुने नयाँ सवारीसाधन र नवीकरण हुने सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्न लागिएको यातायात व्यवस्था विभागले जनाएको छ ।
विभागका महानिर्देशक नमराज घिमिरेले सवारीसाधनको वैज्ञानिक व्यवस्थापन गर्ने उद्देश्यसहित आगामी साउनदेखि नयाँ सवारीसाधन र नवीकरण हुने सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्न लागिएको जानकारी दिनु भयो ।
नयाँ खरिद गरिने दुई पाङ्ग्रे, चार पाङ्ग्रेलगायत सबै प्रकारका सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य गरिएको छ ।
इम्बोस्ड नम्बर प्लेट जडानका लागि भर्नुपर्ने फारम भर्ने प्रणालीलाई अहिले परिष्कृत गर्नेलगायत सबै प्रकारका प्राविधिक काम पूरा भइसकेको बताउँदै उहाँले सार्वजनिक, कूटनीतिक नियोग, संस्थानलगायत सबै प्रकारका सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य गरिएको स्पष्ट पार्नु भयो।
यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।