बैतडी जिप दुर्घटना अपडेट : तीनको मृत्यु, ११ घाइते
बैतडी- जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ। दुर्घटनामा परी अन्य ११ जना घाइते छन्। घाइतेमध्ये ५ जनाको अवस्था गम्भीर छ।मृत्यु हुनेहरूमा सिगास गाउँपालिका– ३ का ४५ वर्षीय जयसिंह धामी,४५ वर्षीय मानसिंह साउद र ६४ वर्षीय रामसिंह धामी छन्। उनीहरु तीनैजनाको घटनास्थमै मृत्यु भएको बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए।
सिगास गाउँपालिका– ३ का १८ वर्षीय योगेन्द्र धामी, १३ वर्षीय लक्ष्मण बोहरा र ४७ वर्षीय कृष्ण धामी, ४० वर्षीया गोमती साउद र २० वर्षीय राजेन्द्र धामी गम्भीर घाइते भएका छन्।
यस्तै, दुर्घटनामा परी सिगास गाउँपालिका– ३ कै २९ वर्षीय करनसिंह धामी, ४५ वर्षीय दलवीर साउद, ४० वर्षीय चक्रधामी, ३८ वर्षीया वास्मतीधामी, ४० वर्षीय शेरबहादुर धामी,र २० वर्षीय रवीन्द्र धामी सामान्य घाइते भएका छन्। घाइतेहरुलाई उपचारको लागि डडेल्धुरा अस्पताल पठाइएको छ।
सिगास गाउँपालिका– ३ बाट डडेल्धुरातर्फ गईरहेको से १ ज७३९ नम्बरको जिपसिगासकै लगन भन्ने स्थानमा आइतबार बिहान ९ बजेर ४० मिनेटमा दुर्घटनामा परेको हो।
दुर्घटनाग्रस्त जिपका चालक १९ वर्षीय खगेन्द्र साउद र जिप साहु ४४ वर्षीय हरिभान साउद भने फरार रहेका प्रहरीले जनाएको छ। १६ जना सवार जिप सडकबाट करिब ५० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ। दुर्घटनाको कारण खुल्न सकेको छैन।