‘द भ्वाइस अफ नेपाल’को सेटमा फर्किए दीप श्रेष्ठ
काठमाडौं-बरिष्ठ गायक तथा नेपालकै नम्बर १ रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’को कोच दीप श्रेष्ठ सेटमा फर्किनुभएको छ । कोरोना भाइरसबाट संक्रमित भएपछि दीप श्रेष्ठ २ साता भन्दा बढी अस्पतालमा उपचार गराएर फर्किनुभएको छ ।
उहाँ, कोरोनामुक्त भएपनि केही समय आराम गर्न घरमै बस्नुभएको थियो । जसकाकारण, उहाँ ‘द भ्वाइस अफ नेपाल’को सेटमा उपस्थित हुन सक्नुभएको थिएन । दीप श्रेष्ठको अनुपस्थितीमा गायक राजेश पायल राई कोचको रुपमा ‘द भ्वाइस अफ नेपाल’को कुर्सीमा बस्नुभएको थियो ।
तर, अब पूर्ण रुपमा निको भएपछि दीप श्रेष्ठ सेटमा फर्किएको यो शोका निर्देशक लक्ष्मण पौडेलले अनलाइनखबरलाई जानकारी दिनु भयो । उहाँले भन्नुभयो –‘दीप सर द भ्वाइसको सेटमा फर्किसक्नु भएको छ । अब, हरेक शुक्रबार र शनिबार नै दर्शकले उहाँलाई शोमा कोचको भूमिका निर्वाह गरेको देख्न पाउनेछन् ।’‘द भ्वाइस अफ नेपाल’ उत्कृष्ट १२ मा पुगेको छ । अब, दर्शकको भोटिङको आधारमा प्रतिस्पर्धीहरु बाहिरिनेछन् ।