Connect with us
Kapilvast Forest

प्रधानमन्त्रीले अहङ्कारकाे जगमा उभिएर अदालतलाई जवाफ दिनुभयाे : कांग्रेस प्रवक्ता शर्मा

२०७८, २५ असार शुक्रबारमा प्रकाशित

  काठमाडौं – नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीले अहङ्कारको जगमा उभिएर अदालतलाई जवाफ दिएको टिप्पणी गर्नुभएको छ । संविधानको व्याख्या गर्ने अधिकार सर्वोच्च अदालत भएको भन्दै प्रवक्ता शर्माले संविधानअनुसार आदेश गर्ने अदालतलाई प्रधानमन्त्रीले संविधान विपरीत भएको भनी टिप्पणी गर्नु अहङ्कारीपन भएको दाबी गर्नुभयो ।

बिहीवार सर्वोच्च अदालतलाई पठाएको प्रधानमन्त्री ओलीको लिखित जवाफमाथि आज शुक्रवार प्रतिक्रिया दिँदै उहाँले सर्वोच्च अदालतले गरेको आदेशलाई सत्तापक्ष, सरकार वा विपक्षी दल सबैले स्वीकार गर्नुपर्ने तर्क गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘प्रधानमन्त्रीजीले अदालतलाई अहिले जवाफ दिँदै गर्दाखेरी अहङ्कारको जगमा उभिएर दिनुभयो । अदालतले चाहिँ संविधानको जगमा उभिएर उहाँलाई सन्देश दिएको छ । त्यसकारण संविधान, कानुन, मानवीय कोणबाट समाजलाई हेरिराखेर संवैधानिक इजलासबाट संविधानलाई पुनर्जीवन दिने फैसला आउनेछ आशा र विश्वासमा हामी छौँ ।’

प्रतिनिधि सभा विघटनपछि प्रधानमन्त्रीले गर्नुभएकाे मन्त्रिमण्डल पुनर्गठनमा सर्वोच्च अदालतमा परेको मुद्दाकाे सम्बन्धमा सर्वोच्चलाई लिखित जवाफ दिँदै सर्वोच्च अदालतको आदेश संविधान विपरीत भएको बताउनुभएको थियो ।

सर्वोच्च अदालतलाई दिएको जवाफ जस्तै प्रधानमन्त्री ओलीका भ्रमपूर्ण र चेतावनीयुक्त विचारहरू लिखित रूपमा र मौखिक रूपमा सार्वजनिक भइरहेको उल्लेख गर्दै कांग्रेस प्रवक्ता शर्माले न्यायालयको आदेशलाई सबैले मान्नुपर्ने तर्फ सचेत गराउनुभयो ।

उहाँले भन्नुभयो, ‘प्रधानमन्त्रीले हिजो लिखित रूपमा सर्वोच्चलाई जवाफ दिँदै गर्दाखेरी त्यो आदेशलाई चाहिँ उहाँले संविधान विपरीत भन्नुभएको छ । नेपाली कांग्रेस पार्टी टिप्पणी यसमा केबल यत्ति छ कि हामीले निर्माण गरेको संविधानले कार्यपालिकाको प्रमुखलाई होइन न्यायपालिकालाई संविधानको व्याख्या गर्ने अधिकार दिएको छ र त्यो विधिलाई हामी विपक्षीले पनि स्वीकार गरेर चल्नुपर्छ र सत्ताले पनि त्यसलाई स्वीकार गरेर चल्नुपर्छ ।’

संविधानको धारा ७६ को ५ मा भएको व्यवस्था पार्टीले जोगाउन नसके सांसदले संसद् जोगाउन सक्ने व्यवस्था भएको वकालत गर्दा कतिपयले नेपाली कांग्रेस पार्टी निर्दलीयताको अभ्यासमा जान खोजेको टिप्पणी भएको भन्दै उहाँले त्यसबारे लाञ्छित गर्ने कुरा आफूहरूलाई स्वीकार्य नहुने चेतावनी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘एउटा प्रक्रियामा देश जाँदै गर्दा त्यसलाई निर्दलीय अभ्यासमा जान खोजियो भनेर नेपाली कांग्रेस पार्टीमाथि पनि आरोप लगाइयो । जबकि संविधानको धारा ७६ को ५ मा ४७ सालको संविधानमा गरिएको तीन प्रकारका सरकार भन्दा चौथो प्रकारको सरकारको व्यवस्था हामीले गरेका थियौँ । जसमा संसदलाई सांसदहरूले मात्रै पनि जोगाउन सक्ने । त्यसैले ७६, ५ को कार्यान्वयन गर्ने कुरामा कसैले कसैलाई आरोपित गर्ने, लाञ्छित गर्ने कुरामा हाम्रो विमति छ ।’

राष्ट्रपतिको निर्णय अदालतले बदर गर्न मिल्दैन भन्ने भनाइ बालुवाटार र शीतल निवासबाट निरन्तर सार्वजनिक भइरहेको उल्लेख गर्दै उहाँले प्रश्न गर्नुभयो, ‘हामीले परिकल्पना गरेको व्यवस्था के त्यस्तो व्यवस्था हो ? जहाँ संविधानको व्याख्या गर्न सर्वोच्च अदालतलाई दिइन्छ । सँगै हामीले यस्तो राष्ट्रपति बनाएका छौँ जसको निर्णय अदालतमा परीक्षण हुन सक्दैन । उहाँको निर्णय उल्टिन सक्दैन ।

जब कि सक्रिय राजतन्त्रको कालमा राजाको निर्णयलाई पनि शाही आयोगलाई खारेज गरेर सर्वोच्च अदालतले राजाको निर्णयलाई उल्ट्याएको अभ्यास विगतमा हामीले गर्‍याैँ भने अहिले राष्ट्रपतिको निर्णय परीक्षण हुन नसक्ने, बदर हुन नसक्ने भन्ने चाहिँ बिलकुल हुँदैन । त्यसैले यसबीचमा अदालतलाई चेतावनीयुक्त भाषा जुन प्रयोग गरिएको छ, हामी आशा/अपेक्षा गर्दछौँ र निष्ठापूर्वक विश्वास पनि गर्दछौँ कि सम्मानित न्यायमूर्तिहरूले देशको संविधान, कानुन र मानवीय कोणबाट देशको परिस्थितिलाई विश्लेषण गरेरै फैसला आउनेछ ।’

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu