मन्त्री चयनका लागि देउवा परामर्शमा
काठमाडौं– सभापति शेरबहादुर देउवाको नेतृत्वमा बन्ने सरकारमा पहिलो चरणमा सहभागी मन्त्री छनौटका लागि नेपाली कांग्रेसका नेताहरु छलफलमा व्यस्त छन् ।मंगलबार प्रधानमन्त्रीमा देउवाको सपथसँगै सानो आकारको मन्त्रिमण्डल बनाउने तयारी छ ।
उपसभापति विमलेन्द्र निधि, महामन्त्री पूर्णबहादुर खड्का, बालकृष्ण खाँणलगायतका नेताहरुसँग देउवाले परामर्श गर्नु भएको हो । आज बिहान महामन्त्री डा। शशांक कोइराला, नेता डा। मिनेन्द्र रिजाललगायतका नेताहरु पनि देउवासँग छलफल गर्न बुढानीलकण्ठ पुग्नु भएको थियोे । देउवा निवास बुढानीलकण्ठमा बिहानैदेखि कांग्रेस नेताहरुको भीड छ ।
कांग्रेसका तर्फबाट पहिलो चरणमा दुईजना मन्त्री पठाउने तयारी भएपनि नामको टुंगो लागिसकेको छैन । ‘कसलाई मन्त्री बनाउने भन्नेमा छलफल भइरहेको छ, तर नाममा टुंगो लागिसकेको छैन ‘सकेसम्म आज अर्थ र स्वास्थ्यमन्त्रीको सपथ गराउने तयारी हो ।’
सोमबार बसेको विपक्षी गठबन्धनको बैठकले सानो आकारको मन्त्रिमण्डल बनाउने निर्णय गरेको थियो ।विपक्षी गठबन्धनमा रहेको माओवादी केन्द्र पनि मन्त्रीबारे निर्णय गर्न बिहानैदेखि छलफलमा छ ।