आयल निगमको थानकोट डिपोमा पाँच विद्यार्थी संगठनको धर्ना
काठमाडौं – इन्धनको मूल्यवृद्धि फिर्ताको माग गर्दै आन्दोलनरत पाँच विद्यार्थी संगठनहरुले थानकोटस्थित नेपाल आयल निगमको डिपोमा धर्ना दिएका छन् ।
नेविसंघ, अखिल क्रान्तिकारी, अनेरास्ववियू ९माधव नेपाल समूह०, समाजवादी विद्यार्थी युनियन (उपेन्द्र यादव समूह) र अखिल छैठौंका नेताहरु बुधबार बिहान साढे नौ बजेदेखि धर्नामा बसेका हुन् ।
असार २९ गतेसम्मको अल्टिमेटमभित्र पनि पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता नगरिएकाले थानकोटस्थित डिपो रहेको बागमती प्रादेशिक कार्यालय अगाडि धर्नामा बसेको अखिल क्रान्तिकारीका उपाध्यक्ष सुरेन्द्र बस्नेतले जानकारी दिनुभयो।
इन्धनको मूल्यवृद्धि फिर्ताको माग गर्दै पाँच विद्यार्थी संगठनहरुले आजबाट देशभरका पेट्रोल पम्प, इन्धन ढुवानी ट्यांकर र नेपाल आयल निगमका बिक्री डिपो बन्द गर्ने कार्यक्रम घोषणा गरेका छन् । पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता नलिइएसम्म आन्दोलन नरोकिने पाँच विद्यार्थी संगठनले चेतावनी दिएका छन् ।
गत असार २८ गते नेपाल आयल निगम र पाँच विद्यार्थी संगठनबीच वार्तासमेत भएको थियो । तर, सो वार्ता विफल भएपछि उनीहरुले दोस्रो चरणको आन्दोलन शुरु गरेका हुन् ।