Connect with us
Kapilvast Forest

अन्तर्राष्ट्रिय बजारमा मूल्य वृद्धि,मलका बोलपत्र पटकपटक रद्द

२०७८, ५ श्रावण मंगलवारमा प्रकाशित

mal

 

काठमाडौँ- अन्तर्राष्ट्रिय बजारमा रासायनिक मलको मूल्य वृद्धि भएपछि मल खरिद गर्न आह्वान गरिएका बोलपत्र पटकपटक रद्द हुँदै आएका छन् । यसरी बोलपत्र रद्द हुन थालेपछि मलको अभाव हुने हो कि भनी कृषि सामग्री कम्पनी लिमिटेड चिन्तित छ ।

कम्पनीसँग लगभग साउनसम्म पुग्ने मल मौज्दात छ । त्यसपछि किसानलाई कहाँबाट मल दिने चिन्ता एकातिर थपिएको छ भने अर्कोतिर मल खरिदका लागि गरिएको बोलपत्र चार महिनादेखि रद्द हुँदै गइरहेको समस्या छ ।

कम्पनीका प्रमुख नेत्र भण्डारीले हालसम्म १३ पटक बोलपत्र रद्द भएको जानकारी दिनुभयो । उहाँका अनुसार बाहिरबाट आउनुपर्ने सबै मल आइसकेको र वितरण भइरहेको छ तर आगामी दिनका लागि मल व्यवस्था गर्न खरिदका लागि बोलपत्र आह्वान गर्दा पटकपटक रद्द भइरहेको छ ।
“रासायनिक मलको अन्तर्राष्ट्रिय मूल्य दिनदिनै बढिरहेको छ,” उहाँले भन्नुभयो, “हामीले आफ्नो लागत अनुमानअनुसार टेन्डर गर्छौं । ढुवानीकर्ता कम्पनीले अन्तर्राष्ट्रिय मूल्यअनुसार खरिद गर्न चाहन्छ र त्यो हामी दिन सकिरहेका छैनौँ । त्यसले गर्दा टेन्डर नै नभर्ने र भरेको पनि रद्द हुने समस्या छ ।” एक/दुई जनाले भरे पनि पछि मूल्य वृद्धिका साथै अन्य कारण देखाउँदै त्यसलाई रद्द गर्ने गरेको उहाँले बताउनुभयो ।

कम्पनीले दिएको जानकारीअनुसार युरिया मलको सोमबारको अन्तर्राष्ट्रिय मूल्य प्रतिमेट्रिक टन ४७० डलर र डीएपीको ६०० डलर रहेको छ । गत डिसेम्बरमा युरियाको अन्तर्राष्ट्रिय मूल्य प्रतिमेट्रिक टन २६९ डलर थियो भने डीएपीको ४६८ डलर थियो । आठ महिनामा युरियाको मूल्य २०१ डलर र डीएपी मलको मूल्य १३२ डलरले वृद्धि भएको छ ।

यसको मूल्य अझै बढ्ने सम्भावना रहेको कम्पनी प्रमुख भण्डारीले बताउनुभयो । कोरोना महामारीका कारण मलको उत्पादन कम भएकाले अन्तर्राष्ट्रिय बजारमा पनि मलको अभाव भएको छ । मलको अभाव भएका कारण नै मूल्य आकाशिएको उहाँले बताउनुभयो ।
कम्पनीका प्रवक्ता विष्णु पोखरेलका अनुसार वैशाखमा बोलपत्र आह्वान गर्दा युरिया मलको अन्तर्राष्ट्रिय बजार मूल्य प्रतिमेट्रिक टन ३४० डलर र डीएपी मलको ५३५ डलर थियो । अहिले चार महिनामा मात्र युरियाको प्रतिमेट्रिक टन मूल्य १३० डलर र डीएपीको ६५ डलर बढेको छ । यही वृद्धिका कारणले बोलपत्र पटकपटक रद्द हुँदै गइरहेको छ ।

ढुवानी गर्ने कम्पनीहरूले पनि बोलपत्र भर्नुभन्दा पहिले अन्तर्राष्ट्रिय बजारको अध्ययन गरेका हुन्छन् । कुन मल खरिद गर्ने, कहाँको मल खरिद गर्ने, बाटो खर्च कति, ढुवानी खर्च कति पर्छ सारा हिसाब गरेर मात्र बोलपत्र भर्न आउँछन् तर यहाँको मूल्यमा चित्त नबुझ्दा छाडेर हिँड्ने गरेको प्रमुख भण्डारीले बताउनुभयो ।

यसरी टेन्डर नै रद्द हुँदै गयो भने मलको समस्या हुने कुराको जानकारी मन्त्रालयलाई गराइसकेको उहाँले बताउनुभयो । अहिले कम्पनीसँग २५ हजार मेट्रिक टन युरिया, १५ हजार मेट्रिक टन डीएपी मौज्दात छ । यो लगभग साउनसम्मलाई पुग्ने हो तर त्यसपछि के गर्ने भन्नेबारे कुनै जोहो भइरहेको छैन ।

भारतसँग जीटुजीमार्फत मल ल्याउने प्रक्रिया अगाडि बढे पनि त्यसको अझै सुनिश्चित भएको छैन ।कृषि तथा पशुपन्छी विकास मन्त्रालयले सल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडलाई फास्ट ट्र्याकबाट ५० हजार मेट्रिक टन युरिया मल ल्याउने अनुमति गत चैतमै दिएको थियो तर त्यो मलको अझै टेन्डर भएको छैन ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu