Connect with us
Kapilvast Forest

अवकाश लिने कर्मचारी घटे

२०७८, ९ श्रावण शनिबारमा प्रकाशित

 

काठमाडौँ-पछिल्ला दुई आर्थिक वर्षमा ५८ वर्ष उमेर हदका कारण अनिवार्य अवकाश लिने निजामती कर्मचारीको संख्या घटेको छ।

निजामती किताबखानाका अनुसार चालु आव २०७८/७९ मा २ हजार ३ सय ८३ निजामती कर्मचारीले अनिवार्य अवकाश लिने भएका छन्। तीमध्ये १४ जना सचिव र ८६ जना सहसचिवसरहका कर्मचारी छन्। गत आव २०७७/७८ मा ५८ वर्ष उमेर हदका कारण अनिवार्य अवकाश पाउने कर्मचारी संख्या करिब २ हजार ४ सय थियो। तर दुई वर्षअघिसम्म अनिवार्य अवकाश पाउनेको संख्या एक वर्षमै ३ हजारको हाराहारीमा रहेको निजामती किताबखानाका निर्देशक सूदन श्रेष्ठले बताए। उनका अनुसार तीन वर्षअघि करिब ३ हजार ५ सय कर्मचारीले एक वर्षमा अनिवार्य अवकाश लिएका थिए।

पेन्सन सुविधामा केही थप हुने भएपछि करिब ७ सय कर्मचारीले दुई वर्षअघि ५८ वर्ष उमेर नपुग्दै राजीनामा गरेका थिए। आव २०७५/७६ र २०७६/७७ मा ५८ वर्ष उमेर हद नपुगेरै केही कर्मचारीले राजीनामा गरेकाले यस वर्ष अनिवार्य अवकाश पाउने कर्मचारीको संख्या तुलनात्मक रूपमा कमी भएको श्रेष्ठले बताए। ‘यस वर्ष उमेर हदका कारण अनिवार्य अवकाश पाउने कर्मचारीहरूले दुई/तीन वर्षपहिले नै राजीनामा गरेकाले पछिल्ला दुई वर्ष अनिवार्य अवकाश पाउने कर्मचारी संख्यामा कमी आएको हो,’ श्रेष्ठले भने।

निजामती किताबखानाका अनुसार चालु साउन महिनामै चारजना सचिवले अनिवार्य अवकाश लिँदैछन्। तीमध्ये सञ्चार सचिव हरि बस्यालले साउन ६ गते अवकाश लिइसकेका छन्। कृषि सचिव योगेन्द्र कार्कीले साउन १८ बाट अवकाश लिँदैछन्। यसैगरी वाग्मती प्रदेशका प्रमुख सचिव मुकुन्द पौडेलले साउन २६ बाट अवकाश लिँदैछन्। राजस्व सचिव रामशरण पुडासैनीले साउन २४ बाट अवकाश लिँदैछन्। अवकाश लिनुअघि नै उनले राजनीतिक नियुक्ति पाएका छन्। केपी ओली नेतत्व सरकारले उनलाई राष्ट्रिय वाणिज्य बैंकको सञ्चालक समितिको अध्यक्षमा नियुक्ति गरेको छ।

आगामी असोजमा नेपाल ट्रस्टका सचिव राजेन्द्रप्रसाद खनालले पनि अवकाश लिने भएका छन्। केही दिनअघि मात्र उनी सहसचिवबाट सचिव पदमा बढुवा भएका थिए। सहसचिवबाट सचिवमा बढुवाका लागि सिफारिस समितिले खनाललाई दोस्रो नम्बरमा सिफारिस गरेको थियो। तत्कालीन सरकारले पालो मिचेर दोस्रो नम्बरमा सिफारिस गरिएका खनाललाई सहसचिवबाट सचिवमा बढुवा गरेको थियो।

यसैगरी असोज १२ गते केदार न्यौपानेले अवकाश लिने भएका छन्। बाबुराम गौतम, ईश्वर नेपाल तथा बेगेन्द्रराज शर्माले पनि यस वर्ष अनिवार्य अवकाश पाउने भएका छन्। सहसचिवबाट सचिवमा बढुवा भएपछि शर्माले मन्त्रालयमा काम गर्न पाएका छैनन्। मन्त्रालयमा सचिव भएको अनुभव गर्न नपाएरै शर्माले अवकाश लिँदैछन्। शर्मा हाल प्राकृतिक स्रोत तथा वित्त आयोगमा कार्यरत छन्। यसैगरी यस वर्ष शिशिरकुमार ढुंगानाले पनि यस वर्ष अवकाश लिने भएका छन्। उनी लामो समयसम्म अर्थमै बसेका छन् । यस वर्ष देवेन्द्र कार्की, यामकुमारी खतिवडा तथा महेन्द्र गुरागाईंले पनि अवकाश लिने भएका छन्। गुरागाईं लोकसेवा आयोगमा कार्यरत छन्।

किताबखानाले सार्वजनिक गरेको सूचीमा यस वर्ष अनिवार्य अवकाश पाउने सहसचिवसरहका कर्मचारीहरूमा ताराप्रसाद पोखरेल, ऋषिराज भण्डारी, प्रदीपकुमार मुडभरी, दिलीपकुमार सडौला, प्रकाश लम्साल, रामप्रसाद बिडारी, कृष्णप्रसाद दवाडी, विमलकुमार निर्मललगायत कर्मचारी छन्। निर्मल सहसचिवबाट सचिवमा बढुवा हुने लाइनमा छन्। यसैगरी अनिलभद्र खनाल, अरूणकुमार सिम्खडा, परमेश्वर पराजुली, देवीप्रसाद ज्ञवाली, गोपालप्रसाद रेग्मी, उपेन्द्र राय, कृष्णप्रसाद आचार्य, सरोजचन्द्र पण्डित, हरिराम श्रेष्ठ, सुरेन्द्र सुवेदी, नवीन गिरी, श्यामकिशोर सिंह, सूर्यप्रसाद रिजाल, रमेशप्रसाद शिवाकोटी, खडानन्द गौतम, प्रदीपराज कँणेल, शिवहरि कोइरालाले यस वर्ष अनिवार्य अवकाश पाउन लागेको सूची निजामती किताबखानाले सार्वजनिक गरेको छ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu