पदमुक्त भएका लुम्बिनी प्रदेशका प्रदेश प्रमुख यादवको बिदाइ
बुटवल-प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले नयाँ प्रदेश प्रमुख नियुक्त गरेसँगै लुम्बिनी प्रदेश प्रमुखबाट हटाइएका निवर्तमान प्रदेश प्रमुख धर्मनाथ यादवलाई बिदाइ गरिएको छ।
तत्कालीन नेपाल कम्युनिष्ट पार्टी नेकपाले भागबण्डाको आधारमा २०७६ कात्तिक १८ गते तत्कालीन प्रदेश प्रमुख उमाकान्त झालाई पदमुक्त गरी लुम्बिनी प्रदेश प्रमुखमा यादवलाई नियुक्त गरेको थियो।
नेपाली कांग्रेसले २०७४ साल माघ ७ गते लुम्बिनी प्रदेशको पहिलो प्रदेश प्रमुखको रूपमा नियुक्त गरेका झालाई केपी ओली नेतृत्वको सरकारले पदमुक्त गरी यादवलाई नियुक्त गरेको थियो।
अहिले फेरि देउवा सरकारले यादवलाई पदमुक्त गरी अमिक शेरचनलाई प्रदेश प्रमुख नियुक्त गरेको हो।
मंगलबारको मन्त्रिपरिषद् बैठकले लुम्बिनी प्रदेश प्रमुखमा यादवलाई हटाएर अमिक शेरचनलाई नियुक्ति गर्न राष्ट्रपतिलाई सिफारिस गरेको थियो। मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले यादवलाई पदमुक्त गरी शेरचनलाई प्रदेश प्रमुख नियुक्त गर्नु भएको थियो ।
मंगलबार प्रदेश प्रमुखमा शेरचन नियुक्त भएसँगै लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल तथा प्रदेश प्रमुख कार्यालयले बुधबार यादवलाई बिदाइ गर्नु भएको हो ।
बिदाइ कार्यक्रममा बोल्दै यादवले प्रदेश प्रमुखको रूपमा रहेर लुम्बिनी प्रदेशको बारेमा बुझ्ने अवसर प्रदान गरेको भन्दै तत्कालीन सरकारलाई धन्यबाद दिनुभयो ।
उहाँले लुम्बिनी प्रदेश अरू प्रदेशको तुलनामा विकास निर्माण लगायतका काममा अगाडि रहेको भन्दै लुम्बिनीको यो गरिमालाई आगामी दिनमा पनि कायम राख्नुपर्ने बताउनुभयो ।
नेकपा एकतापछि प्रदेश प्रमुख नियुक्त भएका यादव नेकपा विभाजनपछि भने विपक्षी गठबन्धनको नजरमा आलोचित बन्दै आउनुभउको थियो ।अल्पमतमा रहेका मुख्यमन्त्री शंकर पोखरेललाई दोस्रो पटक मुख्यमन्त्री नियुक्ति गरेको भन्दै गठबन्धन यादवप्रति रुष्ट बन्दै गएको थियो।
गत वैशाख ६ गते मुख्यमन्त्रीबाट राजीनामा दिएका मुख्यमन्त्रीलाई अल्पमतमा रहँदा पनि यादवले आस्थाकै आधारमा सोही दिन नै पुनः मुख्यमन्त्रीमा नियुक्त गरेको आरोप विपक्षी गठबन्धनले लगाएको छ।