लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार मन्त्री पाण्डेयद्वारा राजीनामा
बुटवल-लुम्बिनी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री सन्तोष कुमार पाण्डेयले पदबाट राजीनामा दिनु भएको छ । मुख्यमन्त्री शंकर पोखरेलको नेतृत्वको सरकारमा सहभागी भएका मन्त्री पाण्डेयले मंगलबार राजीनामा दिनु भएको हो ।
सिद्धान्तको आधारमा राजनीति गर्ने जननिर्वाचित प्रतिनिधिले नैतिकताका आधारमा सरकारबाट फिर्ता हुनु नै उपयुक्त ठानेर राजीनामा दिएको मन्त्री पाण्डेयले बताउनु भयो ।उहाँ पहिलो पटक वैशाख ६ गते र दोस्रो पटक वैशाख १९ गते मन्त्रीमा नियुक्त हुनु भएको थियो ।
गत वैशाख ६ गते जसपाबाट मन्त्री बनेका पाण्डेलगायत सरकारमा सहभागी जनता समाजवादीका विजय यादव र कल्पना पाण्डेयलाई पार्टीले कारवाही गर्दै सांसद पदबाट हटाएको थियो। त्यसका विरुद्ध तिनै जना अदालत गएपनि सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको थियो ।
पार्टीले कारबाही गरेपछि प्रदेससभा सचिवालयले सांसद पदबाट मुक्त गरिसकेको छ।जसपाको तर्फबाट मन्त्री बनेका अन्य दुई जना विजय बहादुर यादव र कल्पना पाण्डेय भने मन्त्रीमा कायमै हुनुन्छ । पाण्डेय रुपन्देही क्षेत्र नम्बर ३ ९१० बाट प्रदेशसभा सदस्यमा निर्वाचित हुनु भएको छ ।
लुम्बिनी प्रदेशमा जसपा ६ जना सांसदहरु रहनु भएको छ । पार्टीले कारवाही गरेपछि अव संसदमा जम्मा तीन जना सांसद रहनु भएको छ । उहाँहरु सवै पोखरेल सरकार विरुद्धको गठबन्धन दलतिर लाग्नु भएको छ ।यसैबीच मुख्यमन्त्रीविरुद्ध दायर भएको अविश्वास प्रस्तावमाथि छलफलका लागि बुधबार प्रदेशसभाको विशेष अधिवेशन सुरु हुँदैछ ।
मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध विपक्षी नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी, नेपाल र राष्ट्रिय जनमोर्चाले साउन १९ गते तेस्रो पटक दर्ता गरेको अविश्वास प्रस्तावमाथि छलफल गर्न प्रदेशसभाको विशेष अधिवेशन बुधबार दिउँसो १ बजे बस्दैछ।
