Connect with us
Kapilvast Forest

तीन नम्बर सीमा स्तम्भमा पुग्यो सुरक्षा गस्ती

२०७८, २७ श्रावण बुधबारमा प्रकाशित

 

 

हुम्ला-नाम्खा गाउँपालिका–५ को चिमला भञ्ज्याङमा रहेको नेपाल र चीनको सीमा स्तम्भ नम्बर ३ मा पहिलो पटक नेपाली सुरक्षा गस्ती पुगेको छ । सशस्त्र प्रहरी बल ४४ नम्बर गुल्मका प्रमुख सशस्त्र प्रहरी नायब उपरीक्षक गेहेन्द्र भण्डारी नेतृत्वको टोली उक्त सीमा स्तम्भमा पुग्न सफल भएको हो ।

स्थापना भएदेखि जिल्लाबाट हालसम्म सरकारी स्तरमा उक्त सीमा स्तम्भको अनुगमन भएको थिएन । डीएसपी भण्डारीको नेतृत्वमा ११ जना सशस्त्र प्रहरीका सुरक्षाकर्मी सीमा स्तम्भ अनुगमन गरी फर्किएको छ । नेपाल र चीनबीचको ३ नम्बर सीमा स्तम्भ सुरक्षित रूपमा रहेको उहाँले बताउनुभयो । गाडी जाने ठाउँसम्म गाडी र त्यसपछि तीन दिन पैदल हिँडेर ३ नम्बर सीमा स्तम्भसम्म पुगेको बताउँदै उहाँले पाँच हजार १०८ मिटर अग्लो स्थानमा रहेको सीमा स्तम्भमा पुग्न निकै कठिन रहेको बताउनुभयो ।

उहाँका अनुसार सीमा स्तम्भ पुग्ने क्रममा टोलीले कतै पाटन, कतै उकालो, भीरपाखा छिचोल्नु परेको थियो । टोलीले पाँच हजार दुई मिटर अग्लो स्थानसम्म चढ्नुपरेको थियो ।

सशस्त्रको हेडक्वाटर रहेको सदरमुकाम सिमकोटको ४४ नम्बर गुल्मबाट नाम्खा गाउँपालिकाको वडा नम्बर ५ को यारीसम्म कर्णाली करिडोरको सडक हुँदै गाडीमा पुगेको टोली पहिलो दिन उतै बास बस्नुपरेको थियो । सीमा स्तम्भ अनुगमनको जिम्मा पाएको टोलीले त्यसको पछिल्लो दिन नेम, ह्याङ्सी हुँदै घी खर्कमा दोस्रो बास बसेको थियो ।

तेस्रो दिन याङ्जो पोखरी, चिलिमे भञ्ज्याङस्थित ३ नम्बर सीमा स्तम्भमा पुग्न सफल भएको उहाँले बताउनुभयो । हिँड्ने बाटो नभएको अग्लो पाटनमा सुरक्षाकर्मीको हातमा रहेको जीपीएसका भरमा टोली स्तम्भको पहिचान गर्न सफल भएको हो । अक्सिजनको मात्रा कम भएकाले लेक लाग्ने उत्तिकै सम्भावनालाई समेत ध्यानमा राख्दै सुरक्षा गस्ती पुगेको थियो । उहाँले सीमा अनुगमन गरेर टोली सुरक्षित रूपमा फर्केको बताउनुभयो । हिउँले १०/११ महिना ढाक्ने सो क्षेत्रमा उपयुक्त समयमा गएका कारण सीमा स्तम्भको पहिचान गर्न सफल भएको हो । मानवबस्ती नभएको सो क्षेत्रमा टोलीले आफूलाई आवश्यक पर्ने सबै कुरा बोकेर सीमाको अनुगमनमा निस्कनुपरेको थियो ।

अब ४ नम्बर स्तम्भ बाँकी
डीएसपी भण्डारीले आफ्नो टोलीले एउटा लक्ष्य पूरा गरेर हेडक्वाटर फर्केको बताउँदै अब हुम्ला खण्डमा पर्ने ४ नम्बर सीमा स्तम्भको पहिचान गर्न बाँकी रहेको बताउनुभयो । केही समयअघि सीमा सुरक्षा चौकी हिल्साको टोली ४ नम्बर सीमा स्तम्भको अनुगमन गर्न निस्केको भए पनि हिउँ नपग्लेका कारण सफल नभएको बताउनुभयो ।

अझै एक पटक उक्त स्तम्भको ठाउँ पहिचानका लागि हिल्साकै सुरक्षाकर्मी खटिने उहाँले बताउनुभयो । यो काम आगामी भदौ महिनाभित्र गर्न नसके अन्य महिनामा सीमा स्तम्भको पहिचान तथा अनुगमन गर्न सम्भव नहुने उहाँले बताउनुभयो । हुम्ला खण्डमा पर्ने नेपाल–चीनका सीमा स्तम्भहरूमा ३ देखि १२ नम्बरका १५ वटा सीमा स्तम्भ रहेका छन् । ४ नम्बरबाहेक बाँकी १४ वटै स्तम्भमा सुरक्षाकर्मी पुगिसकेको उहाँले बताउनुभयो । किटदेखि हिल्सा क्षेत्रमा पर्ने ५ देखि ९ नम्बरका सीमा स्तम्भहरू १ र २ गरी १० वटा रहेका छन् । बाँकी १० देखि १२ नम्बर सीमा स्तम्भहरू हिल्साको टाकुले भञ्ज्याङदेखि लिमीको लाप्चा क्षेत्रमा रहेका छन् ।गोरखापत्र   

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu