बुद्धभूमिका किसानलाई कृषि उपकरण वितरण
कपिलवस्तु-कपिलवस्तुको बुद्धभूमि नगरपालिकाले नगरभित्रका किसानलाई लक्षित गरी कृषियन्त्र वितरण गरेको छ । नगर भित्र रहेका किसानलाई ५०/५० र ७०/३० अनुदान कार्यक्रम अन्तरगत कृषि सामग्री वितरण गरिएको हो ।नगरको बार्षिक कार्यक्रम अन्तरगत
नगरभित्र रहेका कृषक समूह, कृषि सहकारी र व्यक्तिगत फर्म गरी ८३ जना किसानलाई अनुदानमा कृषि सामग्री वितरण गरेको नगर प्रमुख केशव कुमार श्रेष्ठले जानकारी दिनुभयो ।
किसानको हकहितलाई मध्यनजर गरी आधुनिक कृषि पेशा तर्फ प्रोत्साहन गरी उत्पादकत्वमा बृद्धि ल्याउने अपेक्षासहित साना कृषियन्त्र वितरण गरिएको नगर प्रमुख श्रेष्ठले जनाउनुभयो ।कृषि उपकरणबाट किसानहरुले कम जनशक्तिबाट पनि धेरै काम गर्न सक्ने नगरभित्रका केहि किसानलाई लक्षित गरी कृषियन्त्र वितरण गरेको कृषि शाखा प्रमुख देवीराम बेल्वासेले बताउनु भयो ।
नगर र किसानको गरी ४० लाख ४९ हजार बराबरको कृषि सामग्री मिनिटिलर, रिपर, कन्सेलर, पम्पसेट लगायत बाँडिएको हो ।बुधबार नगरपालिकामा आयोजित एक कार्यक्रममा बीच नगर प्रमुख श्रेष्ठ, नगर उप प्रमुख मिरा थारु, प्रमुख प्रशासकीय अधिकृत अनिल पौडेल, नगर प्रवक्ता पवनकुमार थारु, कृषि शाखा प्रमुख देवीराम बेल्वासे लगायतले किसानलाई उक्त कृषि सामग्री वितरण गर्नुभएको छ ।