एमाले सांसदबाट राजीनामा दिएका डाँगी मुख्यमन्त्रीको प्रमुख सल्लाहकारमा नियुक्त
रुपन्देही-लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कुलप्रसाद केसीले आफ्नो प्रमुख राजनीतिक सल्लाहकारमा अमर बहादुर डाँगीलाई नियुक्त गर्नु भएको छ । मुख्यमन्त्री तथा मन्त्रीहरुको शपथग्रहण लगत्तै बिहीबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले डाँगीलाई मुख्यमन्त्री केसीको प्रमुख सल्लाहकारमा नियुक्त गर्ने निर्णय गरेको हो।
सरकारका प्रवक्ता कृष्णध्वज खड्काले सहायक राज्यमन्त्री स्तरको सेवा सुविधा पाउने गरी डाँगीलाई मुख्यमन्त्रीको प्रमुख सल्लाहकारमा नियुक्त गरेको जानकारी दिनुभयो ।
नेकपा एमालेका तत्कालीन सांसद डाँगीले गत वैशाख २२ गते पदबाट राजीनामा दिनुु भएको थियो । डाँगीको राजीनामापछि तत्कालीन मुख्यमन्त्री शंकर पोखरेल अल्पमतमा पर्दै जानुभएको थियो । दाङ क्षेत्र नम्बर २ ख बाट प्रदेशसभा सदस्य निर्वाचित डाँगी घोराही उपमहानगरपालिकाका पूर्व मेयर समेत हो ।