उत्पादनमुखी अर्थतन्त्रमा ध्यान जानु आवश्यक :प्रदेश प्रमुख शेरचन
रुपन्देही -लुम्बिनी प्रदेश चेम्बर अफ कमर्शको पहिलो साधारणसभा तथा अधिवेशन बुटवलमा सम्पन्न भएको छ ।उक्त साधारणसभाले लुम्बिनी चेम्बर अफ कमर्शको १६ जना कार्यसमितिमध्ये १२ जना सदस्य समेत चयन गरेको छ । लुम्बिनी प्रदेश चेम्बर अफ कमर्शका अध्यक्ष टंकप्रसाद पोखरेलको सभापतित्वमा भएको उक्त कार्यक्रममा प्रमुख अतिथि लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले निर्विरोध निर्वाचित सदस्यहरुलाई प्रमाणपत्र वितरण गर्नु भएको थियो ।
सो अवसरमा शेरचनले अबका दिनमा आयातित व्यापारलाई निरुत्साति गरी उत्पादनमुखी अर्थतन्त्रमा ध्यान जानु जरुरी रहेको बताउनु भयो ।शेरचनले देशको आर्थिक समृद्धिका लागि उत्पादनमुलक उद्योग र व्यापारको विकास गर्दै स्वदेशी उत्पादन बढाउनुपर्ने बताउनुभएको छ । उहाँले नेपालमा रहेको अपार प्राकृतिक सम्पदाको सहिरुपमा उपयोग गर्न नसकिएको उल्लेख गर्दैै कृषि र पर्यटन क्षेत्रलाई समृद्धिको जग बनाउन आग्रह गर्नुभयो ।
त्यसैगरी विशिष्ट अतिथि नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेन्द्र मल्लले लुम्बिनी प्रदेशमा रहेको बुद्ध भूमिको अन्तर्राष्ट्रिय प्रचार भइरहेको तथा २९ प्रतिशत भू–भाग कृषियोग्य जमीन भएकाले समुचित प्रयोग गरी कृषिमा जोड दिई आत्मनिर्भर हुनुपर्नेमा जोड दिनु भयो ।
लुम्विनी चेम्बर अफ कमर्सका अध्यक्ष टंकप्रसाद पोखरेलले द्योगी ब्यवसायीलाई कोभीड खोप उपलब्ध गराउने कुरामा राज्यले कञ्जुस्याईं गरिरहेको गुनासो गर्दै नीजि क्षेत्रले गरेको योगदानको कदर गर्न आग्रह गर्नुभयो ।
कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका केन्द्रीय सदस्य तथा चेम्बर अफ कपिलवस्तुका अध्यक्ष महादेव पोखरेलले व्यावसायीले जहिले पनि सरकारलाई सहयोग गरेको स्मरण गराउदै अहिलेको यो महामारीको समयमा पनि निजी क्षेत्रको उल्लेखनीय सहयोग नबिर्सन आग्रह गर्दै सरकार र निजी क्षेत्रको सहयोगले बिकास सम्बृद्दीले फड्को मार्ने बताउनुभयो ।
पहिलो साधारण सभाबाट चयन भएका सदस्यहरुको प्रथम बैठकले उपाध्यक्षमा श्रीधर महरा, महासचिवमा झविन्द्र कँडेल, सचिवमा चिरञ्जिवी पोखरेल, कोषाध्यक्षमा युवराज न्यौपाने चयन हुनु भएको छ । त्यस्तै सदस्यहरूमा उदयराज लम्साल, यमकुमारी सुवेदी, मदन खड्का, पदम पोखरेल, जयप्रकाश गुप्ता, सुकदेव बेल्वासे, खिमबहादुर खत्री, उमानाथ घिमिरे चयन हुनु भएको छ ।
त्यस्तै मनोनिततर्फ शिव ज्ञवाली र महिलातर्फ मञ्जु पराजुली चयन हुनु भएको छ ।प्रदेश चेम्बर अफ कमर्शका अध्यक्ष नेपाल चेम्बर अफ कमर्श कार्यसमितिले चयन गर्ने र अन्य पदमा जिल्ला, महानगर, उपमहानगर, नगर, गाउपालिका तथा वडा चेम्बरहरुबाट निर्वाचन हुने वैधानिक व्यवस्था छ ।