Connect with us
Kapilvast Forest

एमाले विभाजन क्षम्य हुँदैन : ओली

२०७८, १ भाद्र मंगलवारमा प्रकाशित

 

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई विभाजन गराउन अनेक षड्यन्त्र भइरहेको बताउनु भएको छ ।भक्तपुर बालकोटस्थित निवासमा सोमबार राति बसेक एमाले स्थायी कमिटीको ‘आकस्मिक बैठक’मा सम्बोधन गर्दै ओलीले नेकपा एमाले विभाजनका लागि अनेक षड्यन्त्र भइरहेको बताउनु भएको हो ।

उहाँले संसद अधिवेश अन्त्य गरेर अहिलेको अवस्थामा एमालेलाई विभाजन गर्नका लागि सरकारले अध्यादेश ल्याउन खोजिएको बताउनु भयो ।उहाँले भन्नु भयो ,’सरकारले हठातमा संसदको अधिवेशन अन्त्य गरेर दल विभाजनसम्बन्धी अध्यादेश ल्याउन खोजेको देखियो ।’संसद अधिवेशन अन्त्य भएपछि एमाले अध्यक्ष ओलीले आकस्मिक रुपमा स्थायी कमिटीको बैठक बोलाउनु भएको थियो ।

बैठकमा एमालेलाई विभाजन गराउन नै सरकारले ‘हठात’मा अधिवेशन अन्त्य गरेर दल विभाजन सम्बन्धी अध्यादेश ल्याउन लागेको उहाँले दाबी गर्नु भएको थियो ।नेकपा एमाले पार्टी कार्यालय सचिव एवं सांसद शेरबहादुर तामाङले पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा छलफल गर्न बैठक बसेको बताउनु भयो ।स्थायी कमिटीको बैठक मंगलबार बिहान ११ बजे पनि बस्ने उहाँले जानकारी दिनु भयो ।

यस्तो छ वक्तव्य

१. सुल्झिएको विचार, सुदृढ संगठन र फराकिलो जनाधार सहितको एकतावद्ध नेकपा (एमाले)को नेतृत्वमा मात्रै संविधानको रक्षा र कार्यान्वयन गर्न सकिन्छ, लोकतन्त्रलाई सुदृढ गर्न, राष्ट्रियताको रक्षा गर्न र मुलुकलाई सुशासन तथा समृद्धिको दिशामा अगाडि बढाउन सकिन्छ भन्ने निष्कर्षका साथ पार्टी एकताको रक्षाका लागि हामीले गरेको अनवरत प्रयासका बारेमा कमरेडहरु अवगत नै हुनुुहुन्छ । २०७७ फागुन २३ गतेको सर्वोच्च अदालतको फैसलापछि पनि नेपाल कम्युनिष्ट पार्टीलाई एकतावद्ध राख्न हामीले हरसम्भव कोसिस गरेका थियौं । त्यो सम्भव नभएपछि नेकपा (एमाले) लाई नेकपाको विरासत सहितको एकीकृत पार्टीका रुपमा विकास गर्न केन्द्रित रह्यौं । यस क्रममा पार्टीभित्र उत्पन्न समस्याको समाधानका लागि कार्यदल गठन गरिएको र कार्यदलले निकै लामो प्रयासपछि गत असार २७ गते १० बुँदे प्रस्ताव प्रस्तुत गरेको तथ्य पनि सबैलाई जानकारी नै छ ।

२. कार्यदलका तर्फबाट असार २८ गते उक्त प्रस्ताव प्राप्त भइसकेपछि मैले सोही दिन त्यसलाई ग्रहण गरेको थिएँ । त्यसै अनुरुप २०७८ साउन १ गते सम्पन्न पार्टी स्थायी कमिटीको बैठक र साउन ४–७ मा सम्पन्न केन्द्रीय कमिटीको बैठकले पार्टीभित्रको समस्या समाधानका लागि महत्वपूर्ण आधारका रुपमा रहेको उक्त प्रस्तावलाई ग्रहण र अनुमोदन गर्दै कार्यान्वयन गर्ने निर्णय गरिसकेको छ ।

सयौं सहीदहरुको वलिदान, हजारौं नेता तथा कार्यकर्ताको कष्टसाध्य संघर्ष, लाखौं सदस्यको मेहनत तथा जनसंख्याको अत्यधिक ठूलो हिस्साको समर्थनमा निर्माण र विकसित भएको यो पार्टी आफैंमा सामाजिक, न्याय र विकासको पर्याय बनेको छ । पार्टीभित्र लोकतान्त्रिक र न्यायपूर्ण प्रणाली आत्मसात गरेर मात्र सामाजिक न्याय र अग्रगतिका लागि नेतृत्वदायी भूमिका निर्वाह गर्न सकिन्छ भन्ने मेरो विश्वास छ । म पार्टीका सम्पूर्ण नेता, कार्यकर्ता र सदस्यहरुप्रति विभेद र पूर्वाग्रहमा होइन, कमरेडली समभावमा विश्वास गर्दछु । सबैलाई सम्मानका साथ पार्टी कामका जुट्ने अनुकूल परिस्थिति निर्माण हुनु पर्दछ भन्ने मान्दछु । तसर्थ, पार्टीलाई अनुशासित, एकतावद्ध एवम् गतिशील तुल्याउन र राष्ट्रिय राजनीतिमा यस पार्टीको नेतृत्वदायी भूमिका सुनिश्चि गर्न पार्टीका सम्पूर्ण नेता, कार्यकर्ता र सदस्यहरुलाई हार्दिक आह्वान गर्दछु । पार्टीका स्थायी कमिटी, केन्द्रीय कमिटी लगायत आफू सम्वद्ध कमिटीका बैठकमा सरिक हुन र आ–आफ्नो तहबाट पार्टी निर्माणमा योगदान गर्न अपिल गर्दछु ।

३. केही सयमयता नेकपा (एमाले) र अन्ततः नेपाली कम्युनिष्ट आन्दोलनलाई नै विभाजित गर्ने र समाप्त पार्न खोज्ने गम्भीर षडयन्त्र भैरहेको हामीले देखी भोगिरहेका छौँ । पूर्व घोषित प्रतिवद्धता विपरीत प्रतिनिधिसभाको चालु अधिवेशन हठात अन्त्य गरेर राजनीतिक दल विभाजन सम्बन्धी अध्यादेश ल्याउने र नेकपा (एमाले)लाई विभाजित गर्ने षडयन्त्र गरिंदैछ । नेकपा (एमाले) र यस पार्टीको संसदीय दलमा विभाजन गर्ने कुनै पनि बहाना वा षडयन्त्र पार्टीका लागि मान्य र क्षम्य हुन सक्तैन । तसर्थ, पार्टीका सम्पूर्ण नेता, कार्यकर्ता र प्रतिनिधिसभा तथा राष्ट्रियसभाका माननीय सदस्यहरुलाई पार्टी वा संसदीय दल विभाजनका प्रयासहरु विरुद्ध दृढताका साथ उभिन हार्दिक अपिल गर्दछु ।

४. हाम्रा सामु पार्टीको विधान, मुलुकको संविधान र कानुनी व्यवस्था बमोजिम विधान महाधिवेशन र राष्ट्रिय महाधिवेशन आयोजना गर्ने जिम्मेवारी छ । यस वीचमा विधान संशोधनका लागि पार्टीका सबै तहका कमिटी र सदस्यहरुलाई सुझाव पठाउन निर्देशन गरिएको छ । मैले विधान संशोधनका सम्बन्धमा सबै तहका कमिटी र पार्टी सदस्यहरु माझ जीवन्त र रचनात्मक ढंगले छलफल हुने अपेक्षा गरेको छु । जनताको वहुदलीय जनवादको सिद्धान्त र पार्टी जीवनको लोकतन्त्रिकरणको मर्म अनुरुप विधान महाधिवेशनमा विधान संशोधन प्रस्ताव प्रस्तुत गरिने छ । विधान संशोधनको प्रक्रियामा आ–आफ्नो ठाउँबाट योगदान गर्न सम्पूर्ण कमरेडहरुलाई हार्दिक आग्रह गर्दछु ।

५. क्रान्तिकारी र अग्रगामी सारतत्वका साथ राष्ट्रिय राजनीतिमा नेतृत्वदायी भूमिका निर्वाह गरिरहेको हाम्रो पार्टीको भूमिका यतिबेला सत्ता पक्षबाट प्रतिपक्षमा परिवर्तित भएको छ । यस धक्काबाट उठेर पार्टीलाई पुनः राष्ट्रिय राजनीतिको नेतृत्वदायी शक्तिमा स्थापित गर्न सम्पूर्ण कमरेडहरुलाई अनुशासित र सक्रिय भूमिका निर्वाह गर्नुहुन अपिल गर्दछु ।

हार्दिक अभिवादनसहित ।

केपी शर्मा ओली
अध्यक्ष

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu