समाजवादकाे नयाँ माेडल खाेज्नुपर्छ : बाबुराम भट्टराई
काठमाडौं – जनता समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले समाजवादको नयाँ मोडल खोज्नुपर्ने आवश्यकता रहेको बताउनुभएकाे छ ।आज बिहीवार समाजवादी केन्द्र नेपालले आयोजना गरेको ‘एक्काइसाैँ शताब्दीको मार्क्सवाद र समाजवाद’ विषयक अन्तरक्रियामा नेता भट्टराईले नयाँ समाजवादकाे नयाँ माेडल खाेज्नुपर्ने बताउनुभएकाे हाे ।
नेताहरूले पुराना पार्टीको चुनाव चिह्न छोड्न गाह्रो मानेको भन्दै उहाँले क्षणिक पार्टीगत र चुनावी स्वार्थभन्दा माथि उठेर समाजवादी केन्द्र बनाउनुपर्नेमा जोड दिनुभयो ।
नेता भट्टराईले भन्नुभयो, ‘फेरि नयाँ समाजवादको एउटा मोडल खोज्नेतिर देश गइरहेको छ । त्यो अबको आवश्यकता हो । वस्तुगत रूपमा त हो नै विषयगत रूपमा हामी हिच्किचाइरहेका छौँ । चुनाव चिह्न छोड्न हामीलाई गाह्रो । भोट नागरिकले त्यसैमा हाल्छ । त्यो छोड्यौँ भने भोट आउँदैन कि भन्ने डर छ हामीलाई । त्यसैले यसमा जुन अल्झिराखेका छौँ अब आँट गर्नैपर्छ ।’
उहाँले चुनावी स्वार्थभन्दा माथि उठेर विश्व मानव जाति र देशका नागरिककाे हितलाई केन्द्रमा राखेर समाजवादको नयाँ नीति तथा कार्यक्रम बनाउनुपर्नेमा जोड दिनुभयो ।