बाबु गुमाएकी किशोरीको शिक्षाको जिम्मा वडाध्यक्षले लिने
काठमाडौं-केही साता अघि बाबु गुमाएकी सुनकोशी गाउँपालिका(६ थुम्पाखरकी १० वर्षीया बालिका समीक्षा बस्नेतको माध्यमिकसम्मको पढाइको जिम्मा वडाध्यक्ष रामकुमार थापाले लिनुभएको छ ।
अध्यक्ष थापाको पहल र थुम्पाखर एकता समाजको समन्वयमा बस्नेत परिवारलाई उहाँले रु एक लाख ५७ हजार नगद पनि सहयोग गर्नु भयो । स्थानीय विद्यालयको कक्षा ४ मा अध्ययनरत समीक्षालाई वडाध्यक्ष थापाले राजधानीको सान इन्टरनेशनल विद्यालयमा भर्ना गरिदिने बताउनुभयो ।
वडासदस्य रुपकाजी लामाले रु १० हजार १०० बालिकालाई सहयोग पुगोस् भनी बस्नेत परिवारलाई वडाध्यक्षमार्फत हस्तान्तरण गर्नु भएको छ । छत्तीस वर्षीय नेत्रबहादुर बस्नेतको एपेन्डिसाइटका कारण निधन भएपछि उनको परिवार पीडामा छ।
मृतक बस्नेत गाडी चालक हुनुन्थ्यो। उहाँले लकडाउनमा पनि गाडी चलाउँदै अहोरात्र खटी लकडाउनमा अलपत्र परेका मानिसको उद्धार गरी सहयोग गर्नु भउको थियो । बुबाको मृत्यु भएका कारण समीक्षाको पढाइ रोकिने अवस्थामा पुगेको थियो।
वडाका नागरिकको पीडामा मल्हम लगाउन उक्त सहयोग गरिएको वडाध्यक्ष थापाले जानकारी दिए। थुम्पाखर एकता समाजका सदस्य तीर्थ भण्डारीको पहलमा विदेशमा रहेका रमेश बस्नेतले रु ५० हजार ५०० नगद पनि समीक्षाको परिवारलाई बुझाइएको छ।
रु एक लाख छ हजार थुम्पाखर एकता समाजका अध्यक्ष रामकाजी भण्डारी, पूर्वअध्यक्ष दिपेश भण्डारी, कोषाध्यक्ष हरि कार्की, श्वेता फाउण्डेशनका सचिव दीपक कार्कीलगायतका एकता समाजका पदाधिकारीले नगद सङ्कलनमा महत्वपूर्ण भूमिका निर्वाह गर्नु भयो ।