माधव समूह बसेको चन्द्रगिरि रिसोर्टलाई प्रशासनले सोध्यो स्पष्टीकरण
काठमाडौं – जिल्ला प्रशासन कार्यालय काठमाडौंले चन्द्रागिरि हिल्स रिसोर्टलाई स्पष्टीकरण सोधेको छ ।निषेधाज्ञाको समयमा रिसोर्टमा भीडभाड बढेको भन्ने सूचना आएपछि सोबारे जानकारी लिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिनु भयो ।
‘रिसोर्टमा भीडभाड भएको छ भन्ने गुनासो आयो । रिसोर्ट प्रशासनसँग सम्पर्क गरेर यथार्थ के हो भन्नेबारे जानकारी लिएका हौं,’ उहाँले भन्नु भयो , ‘स्वास्थ्य मापदण्ड पालना गरिएको र क्वारेन्टिनका लागि अनुमति लिएको जवाफ रिसोर्ट प्रशासनले दिएको छ ।’
रिसोर्टमा सोमबारदेखि नै नेकपा (एकीकृत समाजवादी) पार्टी दर्ताको लागि निवेदन दिएका माधवकुमार नेपाल समूहका नेताहरु बस्नु भएको थियो । बुधबार बिहानसम्म नेपाल समूहका नेताहरु सोही रिसोर्टमा बस्ने कार्यक्रम तय भएको छ ।