लुम्बिनीमा एमाले सांसद रमा घर्तीले रोजिन् एकीकृत समाजवादी
बुटवल -लुम्बिनी प्रदेशसभाकी एमाले सांसद रमा घर्ती मगरले नेकपा एकीकृत समाजवादी रोज्नु भएको छ । नेकपा एमाले विभाजन भई माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी दर्ता भएपछि घर्तीले नयाँ पार्टी रोज्नु भएको हो । घर्ती समानुपातिकतर्फ पाल्पाबाट निर्वाचित सांसद हुनुन्छ ।
मंगलबार निर्वाचन आयोगको प्रदेश कार्यालय दाङ पुगेर घर्तीले आफूले नेकपा एकीकृत समाजवादी पार्टी रोजेको जानकारी गराउनु भएको हो । आयोगका प्रदेश निर्वाचन अधिकारी मीनराज भट्टराईको रोहबरमा घर्तीको हस्ताक्षर सनाखत भएको छ । आयोगले लुम्बिनी प्रदेश सभा सचिवालयलाई यसबारे पत्राचार गरेपछि प्रदेश सभामा कायम राजनीतिक दल र प्रदेश सभा सदस्यको अभिलेख अद्यावधिक गर्नेछ ।
योसंगै नेकपा एकीकृत समाजवादीले लुम्बिनी प्रदेश सभामा खाता खोलेको छ । यसअघि पाँच दल रहेकामा अब प्रदेश सभामा प्रतिनिधित्व राजनीतिक दलको संख्या ६ पुगेको छ । घर्तीले एमालेका अरु केही सांसद पनि एकीकृत समाजवादीमा आउन सक्ने दावी गनु्र्र भयो ।
‘दुई–दुई पटक संसद विघटन गरेर प्रतिगामी बाटोमा हिँडेको एमाले भन्दा विचार, दृष्टिकोण, नेतृत्वको कार्यशैली सबै हिसाबले राम्रो लागेर एकीकृत समाजवादी रोजेकी हुँ’–घर्तीले भन्नु भयो । उहाँले आफ्नो दलले लुम्बिनीमा चार दलीय गठवन्धनलाई समर्थन रहने र सरकारमा पनि जानसक्ने बताउनु भयो ।
एमालेबाट विभाजन भई नेकपा एकीकृत समाजवादीले दल दर्ताको प्रमाणपत्र पाएपछि एमालेबाट निर्वाचित प्रदेश र स्थानीय तहका जनप्रतिनिधिलाई भदौ २२ गतेसम्म दल रोज्न पाउने व्यवस्था निर्वाचन आयोगले मिलाएको छ ।
पार्टी विभाजनपछि दुबै दलले जनप्रतिनिधिहरुलाई आफूतिर तान्ने कसरत गरिरहेका छन् । ८० सदस्यीय प्रदेश सभामा एमालेका ३७ सांसद थिए । घर्तीले नेकपा एकीकृत समाजवादी रोजेपछि अब एमाले सांसदको संख्या ३६ भएको छ ।