सभामुख सापकोटालाई बस्नेतको चेतावनी : भदौ २३ गते प्रत्यक्ष भेट हुनेछ
काठमाडौँ – नेकपा (एमाले)का सांसद महेश बस्नेतले सभामुख अग्निप्रसाद सापकोटाले राजनीतिक पक्षधरता देखाएको बताउनु भएको छ ।
एमालेले कारबाही गरेका १४ सांसदलाई पदमुक्त नगरेर सभामुख सापकोटाले एमालेप्रति पूर्वाग्रह राखेको माओवादी अध्यक्ष पुष्पकमल दाहालको इशारामा चलेको आरोप लगाउनु भएको छ ।
युवा संघले सोमबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा सांसद बस्नेतले राजनीतिक पूर्वाग्रह नत्यागेमा सभामुखको विरोध संसद्मा नै गरिने चेतावनी दिनु भएको छ । सभामुखले राजनीतिक दलको सदस्यता त्याग्नुपर्छ । प्रचण्डको कार्यकर्ता बनेर सदनमा आउनुभयो भने २३ गते तपाईंसँग हाम्रो प्रत्यक्ष भेटघाट हुनेछ उहाँको चेतावनी थियो, २३ गते प्रमुख प्रतिपक्षी देख्नुहुनेछ ।
वैशाख २७ गते प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिने क्रममा संसद् बैठक बहिष्कार गरेर पार्टीको ह्वीप उल्लंघन गर्ने सांसदलाई एमालेले कारबाही गरेको र त्यसलाई सभामुख सापकोटाले राजनीतिक पूर्वाग्रह राखेर पदमुक्त नगरेको बस्नेतको भनाइ थियो ।
एमालेले भदौ १ गते संघीय संसद् सचिवालयलाई पत्र लेखेर माधवकुमार नेपाललगायत १४ सांसदलाई पदमुक्त गर्न भनेको थियो । सभामुख सापकोटाले त्यो पत्रअनुसार कारबाही नगरेपछि सांसद बस्नेतलगायतले सभामुखको कार्यकक्षमा गएर धर्ना दिनु भएको थियो ।
नेपालको नेतृत्वमा भदौ ९ गते नयाँ पार्टी गठन भएपछि सभामुखले कारबाही सिफारिसको औचित्य नभएको निर्णय गर्नु भएको थियो । जसको एमालेले विरोध गर्दै आएको छ । संघीय संसद्को आगामी अधिवेशन बुधबार ४ बजेबाट सुरू हुँदैछ ।
सांसद बस्नेतले एमालेबाट विभाजित भएर गठन भएको नेकपा ९एकीकृत समाजवादी०ले एमालेलाई चुनौती दिन नसक्ने दाबी गर्नु भयो । व्यक्तिगत स्वार्थ र मन्त्रीको लोभ गरेकाहरू पार्टी विभाजित गरेर गएकाले उनीहरूले एमालेलाई चुनौती दिन नसक्ने उहाँको भनाइ थियो ।