सार्वजनिक-निजी साझेदारी अवधारणा अनुसार काम गर्नुपर्छ : प्रधानमन्त्री देउवा
काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले विकासका लक्ष्य तोके पनि लगानी अभावमा काम गर्न नसकेको बताउनु भएको छ । बुधबार लगानी बोर्ड नेपालको १० औं वार्षिकोत्सव समारोहमा बोल्दै प्रधानमन्त्री देउवाले कोरोना महामारीले पर्याप्त लगानीको वातावरण बन्न नसकेको बताउनु भयो ।
विषम परिस्थितिमा लगानी बोर्डले लगानी भित्र्याउन उल्लेख्य काम गरिरहेको पनि उहाँको दाबी छ । प्रधानमन्त्री देउवाले सरकारले राष्ट्रिय प्राथमिकता प्राप्त परियोजनामा निजी क्षेत्रलाई समावेश गराउन आवश्यक रहेको बताउनु भयो । निजी क्षेत्रको लगानीको आवश्यकता राष्ट्रिय गौरवको परियोजना भएकाले अब सार्वजनिक–निजी साझेदारी ९पीपीपी० अवधारणा अन्तर्गत काम अघि बढाउनुपर्नेमा उहाँले जोड दिनु भयो ।
‘राजनीतिक स्थायित्व प्राप्त भएसँगै हामी आर्थिक वृद्धिको यात्रातर्फ बढेका छौं, नेपालले सन् २०२३÷२४ मा अल्पविकसित राष्ट्रबाट विकासशील राष्ट्र बन्ने चाहना राखेको र २०३० सम्म आयकर वृद्धि भएको राष्ट्रको रुपमा रुपान्तरित हुने नीति राखेको छ,’ उहाँले भन्नु भयो त्यसैले यी लक्ष्यका लागि हामीलाई पर्याप्त लगानी चाहिन्छ, तर अहिले वार्षिक रुपमा नेपालमा ६ अर्ब डलर वित्तीय रिक्तता छ, साथै बोर्डले प्रत्यक्ष वैदेशिक लगानीमा अवरोधलाई चिर्न, सरकारी निकाय र निजी क्षेत्रबीच समन्वय गरेर लगानीमा सहजीकरण गरिरहेको छ ।’
कार्यक्रममा अर्थमन्त्री जनार्दन शर्मा ९प्रभाकर०ले नेपालमा लगानीको वातावरण बनाउनुपर्ने बताउनु भयो । लगानी बोर्ड नेपाल लगानीलाई भित्र्याउने एउटा ढोका भएको भन्दै अर्थमन्त्री शर्माले लगानीकर्ताले लगानीको ढोकाबाट प्रवेश गर्दा विश्वास दिलाउन सक्ने वातावरण सिर्जना गर्नुपर्ने बताउनु भयो । उहाँले लगानी प्रवाहलाई प्रवद्र्धन गर्न सरकारले सार्वजनिक निजी साझेदारी लगानी ऐन, वैदेशिक लगानी तथा प्रविधि हस्तान्तरण ऐन, औद्योगिक उद्योग ऐन जस्ता नीति निर्माण गरेकाले अब यसलाई कार्यान्वयन गरेर लैजानुपर्ने बताउनु भयो ।
मन्त्री शर्माले लगानी गर्नुको मुख्य उद्देश्य भनेको गरिबीको अन्त्य गर्ने, व्यापार घाटाको अन्त्य गर्ने र देशलाई समृद्ध स्तरमा पुर्याउने भएको बताउनु भयो । नेपालका विभिन्न क्षेत्रमा लगानी गर्नका लागि विदेशी लगानीकर्ताहरुलाई उत्साहका साथ नेपाल आउने व्यवस्था र वातावरण सिर्जना गर्न सरकार लागिपरेको उनको भनाइ छ ।