नेविसंघका महामन्त्री वडामै पराजित,
काठमाडौं-नेपाली काँग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)का महामन्त्री बलदेव तिमिल्सिना क्षेत्रीय प्रतिनिधिमा पराजित हुनु भएको छ । सिन्धुपाल्चोकमा मंगलबार भएको वडा अधिवेशनमा कृष्णप्रसाद सिटौलानिकट तिमिल्सिना वडामै पराजित हुनु भएको हो ।
सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी वडा ( ३ का तिमिल्सिनाले ७७ मत मात्र प्राप्त गर्नु भएको थियो । उहाँलाई पराजित गर्ने १७ मत बढी पाउनु भएको सथयो । यस्तै पूर्व जिल्ला सभापति भूपेन्द्र थापा क्षेत्रीय प्रतिनिधिमै पराजित हुनु भएको छ । सिन्धु काठमाडौँ सम्पर्क समितिका अध्यक्ष सोनाम थिङ पनि वडाबाट माथि आउन सक्नु भएन । वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका उहाँहरू बाह्रबिसे नगरपालिका वडा ३ मा पराजित हुनु भएको हो ।
यस्तै सुनकोशी गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी पौडेल र सिन्धुपाल्चोक महिला संघकी जिल्ला अध्यक्ष गीता नेपालले पनि क्षेत्रीय प्रतिनिधिमा पराजित हुन परेको छ । सिन्धुपाल्चोकमा केन्द्रको संस्थापन पक्षले जिल्लाको स्थापन पक्षका प्रमुख नेताहरूलाई वडामै रोकिदिएको छ ।
यस्तै रोल्पामा केन्द्रको संस्थापन पक्ष निकट नेताहरूलाई जिल्लाको संस्थापन पक्षले वडामै सीमित पारेको थियो । सभापति शेरबहादुर देउवानिकट रोल्पाका पूर्वसभापति कृष्णबहादुर घर्तीमगर माडी गाउँपालिका–२ मा पराजित हुनु भएको छ ।
घर्तीमगर देउवा नेतृत्वको तत्कालीन काँग्रेस प्रजातान्त्रिकको जिल्ला सभापतिका हुनु भएको थियो । साबिकको घर्तीगाउँ गाविसका पूर्व अध्यक्ष घर्तीमगर १२ औँ अधिवेशनमा जिल्ला सभापतिमा पराजित हुनु भएको थियो ।
यस्तै वर्तमान जिल्ला सचिव मोहन परियार पनि त्रिवेणी गाउँपालिका–३ मा पराजित हुनु भएको छ ।