चुनावमा बहुमत ल्याउने गरी पार्टीमा एकता कायम गर्नुपर्ने एमाले नेताहरुको जोड
काठमाडौँ – नेकपा एमालेका नेताहरुले आगामी निर्वाचनमा बहुमत ल्याउने गरी पार्टीमा एकता कायम गर्नुपर्ने बताएका छन् । आज च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा बसेको केन्द्रीय कमिटी बैठकमा आसन्न विधान महाधिवेशनमा पेश गर्ने राजनीतिक र सांगठनिक दस्तावेजका साथै विधान संशोधन मस्यौदामाथि भएको समूहगत छलफलको निष्कर्षहरु पेश भएको थियो ।
प्रचार विभाग प्रमुख योगेश भट्टराईका अनुसार नेताहरुले आगामी फागुनमा स्थानीय तहको निर्वाचन हुने भएकाले तयारी गर्नुपर्नेमा जोड दिएका छन् । उहाँका अनुसार छलफलमा नेताहरुले पार्टीमा युवाका साथै महिला, आदिवासी जनजाति, महिला, मधेसीलगायतको सहभागिता बढाउनुपर्ने बताएका छन् ।
एमाले एकताको प्रतीक भएको भन्दै नेताहरुले कम्युनिस्ट एकताका लागि पहिले एमालेले नै अगुवाइ गर्नुपर्नेमा जोड दिएका छन् । अध्यक्ष ओलीसहित दस्तावेज प्रस्तुतकर्ताले आइतबार विहान ११ बजे बस्ने बैठकमा जवाफ दिने छन् ।