आत्महत्या गर्ने कि लड्ने भन्ने ठाउँमा पुगें:प्रचण्ड
काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ५ पुसको संसद विघटनसँगै आफूसामु लड्ने कि आत्महत्या गर्ने भन्ने विकल्प देखिएको स्मरण गर्नु भएको छ । यद्यपि आफूले पार्टीका नेताहरुको साथ लिएर क्रन्तिकारी ढंगले लड्ने निर्णय लिएको र त्यसमा विजयी भएको उहाँको भनाइ छ ।
अनेरास्ववियु क्रान्तिकारीको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै प्रचण्डले साविकको नेकपामा निरंकुश र प्रतिगामी प्रवृत्तिसँग संघर्ष गर्दा फेरि लड्ने कि सकिएन यत्ति रहेछ भनेर छोड्ने भन्ने प्रश्न आएको बताउनु भयो ।
भारतीय फिल्म भगत सिंहमा चन्द्रशेखर आजादले एक मुठी माटो लिएर (धर्ती माता)मा यति नै रहेछ गर्न भनेर आत्महत्या गरेको प्रसंग उहाँले सुनाउनु भयो । आफू पनि झण्डैझण्डै यस्तो अवस्थामा पुगेको भन्दै प्रचण्डले अघि भन्नु भयो ‘आत्मसमर्पण त गर्न सक्दिनँ, हजारौं शहीद, घाइते अपांगको ऋण मेरो टाउकोमा छ । मैले या त सकिन, यत्ति नै रहेछ भने सुसाइड गर्नुपर्ने या त लड्नुपर्ने ठाउँमा पुगेको देखें ।’
यसो भन्दैगर्दा उनको गला अवरुद्धजस्तै भएको थियो । पार्टीका सबै नेताहरुको सहयोगबाट फेरि लड्ने संकल्प गरेको भन्दै उहाँले भन्नु भयो ‘जेल जानुपर्छ भने जाने, मारिनुपर्छ भने पनि तयार हुने संकल्प गरियो । त्यही संकल्पबाट शुरु भयो सडक आन्दोलन ।’