Connect with us
Kapilvast Forest

बाढीले सवा ८ अर्बको धान नष्ट

२०७८, ८ कार्तिक सोमबारमा प्रकाशित

तस्बिर : मनोज पौडेल/कान्तिपुर

 

 

काठमाडौँ — बेमौसमी वर्षाले मुलुकभर ८ अर्ब २६ करोड ८० लाख रुपैयाँको धान क्षति भएको प्रारम्भिक अध्ययनले देखाएको छ । प्रदेशस्तरबाट प्राप्त धानबालीको क्षति विवरणअनुसार सात प्रदेशमा २ लाख ८५ हजार ५ सय ९ हेक्टरमा गरिएको धानबालीमा असर पुगेको छ । यसमध्ये ८५ हजार ५ सय ८० हेक्टर क्षेत्रफलको धानमा क्षति पुगेको छ ।

‘ती क्षेत्रफलबाट ३ लाख २५ हजार २ सय ५८ टन धान उत्पादन हुने अनुमान थियो । एक टनको २८ हजार रुपैयाँका दरले ८ अर्ब २६ करोड ८० लाख रुपैयाँ क्षति भएको देखिन्छ,’ कृषि तथा पशुपन्छी विकास मन्त्रालयका प्रवक्ता प्रकाशकुमार सञ्जेलले भने, ‘प्रदेशस्तरबाट तथ्यांक संकलनमा समन्वय र सहजीकरणका लागि सात वटै प्रदेशमा एक/एक टोली गठन गरेका छौं ।’ मन्त्रालयको विवरणअनुसार प्रारम्भिक अध्ययनले सबैभन्दा बढी क्षति लुम्बिनी प्रदेशमा पुगेको देखिएको छ ।

 

लुम्बिनीमा ४२ हजार ४ सय २७ हेक्टरमा लगाइएको ४ अर्ब ५१ करोड रुपैयाँको धान क्षति भएको विवरणमा उल्लेख छ । लुम्बिनीमा सबैभन्दा बढी बर्दियामा ११ हजार ५ सय ४०, कपिलवस्तुमा १० हजार ६ सय ९६, बाँकेमा ६ हजार ८ सय ७५ र रूपन्देहीमा ६ हजार ४ सय १० हेक्टरमा क्षति पुगेको छ । दोस्रोमा सुदूरपश्चिम प्रदेशमा क्षति पुगेको छ । यहाँ ५५ हजार हेक्टरमा असर गरे पनि क्षति भने १८ हजार हेक्टरमा भएको जनाइएको छ । उक्त क्षेत्रफलबाट १ अर्ब ९१ करोड रुपैयाँको धान क्षति भएको विवरणमा उल्लेख छ । सुदूरपश्चिममा पनि कैलाली र कञ्चनपुरमा बढी क्षति पुगेको छ ।

तेस्रोमा प्रदेश १ मा ८० करोड रुपैयाँको धान क्षति भएको छ । प्रारम्भिक अध्ययनमा प्रदेश १ मा ४९ हजार ९ सय ४५ हेक्टरमा असर गरेकोमध्ये ७ हजार ४ सय ९२ हेक्टरमा क्षति पुगेको उल्लेख छ । उक्त क्षेत्रफलबाट २८ हजार ४ सय ६९ टन धान नष्ट भएको छ । प्रदेश १ मा सबैभन्दा झापामा १३ हजार १ सय २५, मोरङमा ९ हजार ८ सय ९६ र सुनसरीमा ९ हजार ७ सय २ हेक्टरमा क्षति पुगेको छ ।

२०७८ भदौसम्म १७ सम्म झापामा ८७ हजार ५ सय, मोरङमा ८२ हजार ४ सय ६७ र सुनसरीमा ५३ हजार ९ सय हेक्टरमा रोपाइँ गरिएको थियो । प्रदेश १ का यी तीन जिल्लाबाहेक अन्यमा पनि सामान्य क्षति पुगेको छ । धानको मुख्य पकेट क्षेत्र प्रदेश २ मा ४८ हजार ६ सय ८४ हेक्टरमा लगाइएको धानमा असर पुर्‍याए पनि क्षति भने ५ हजार ३ सय ५५ हेक्टरमा भएको छ । उक्त क्षेत्रफलबाट २० हजार ३ सय ५० टन धान क्षति भएको छ । रकमका हिसाबले ५६ करोड रुपैयाँको धान क्षति भएको मन्त्रालयले जनाएको छ । प्रदेश २ का आठ जिल्लामा उक्त क्षति भएको हो । प्रदेश २ मा ४ लाख ३ हजार १ सय ६४ हेक्टरमा धान खेती भएको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय प्रदेश २ का सूचना अधिकारी मनीषकुमार पालले जानकारी दिए ।कान्तिपुर पोष्ट

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu