मुक्तिनाथ मन्दिर क्षेत्रमा हिमपात
बेनी- हिमाल पारीको जिल्ला मुस्ताङको पबित्र तिर्थस्थल मुक्तिनाथ मन्दिर क्षेत्रमा हिमपात भएको छ । मुक्तिनाथ मन्दिर भन्दा माथिको पहाड क्षेत्रमा आइतबार साँझ हिउँ परेको हो ।
मुक्तिनाथका होटल अन्नपुर्ण इनका सञ्चालक अमृत सुवेदीका अनुसार मुक्तिनाथ मन्दिर भन्दा माथिल्लो भेकमा हिजो बेलुका देखि हिउँ परेको छ । मुक्तिनाथ दर्शनकालागि आएका पर्यटकहरु हिउँ परेकोदेखेर उत्साहीत भएको सञ्चालक सुवेदीले बताउनुभयो । यस वर्ष गत हप्ता पानी पर्ने क्रममा सामान्य हिमपात भए पनि आइतबार अलिक बाक्लो हिउँ परेको सुवेदीको भनाई छ ।
मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले आइतबार बेलुकादेखि हिउँ परेकाले चिसो केही बढेको बताउनुभयो । बस्ती सम्म आएको छैन तर मुक्तिनाथ मन्दीर भन्दा माथिल्लो क्षेत्र र अन्य उच्च पहाडमा थप हिउँ परेको छ । गत हप्ता देशै भरि वर्षा हुँदा मुस्ताङको उच्च पहाडमा हिउँ परेको थियो भने आइतबार हिउँ थपिएको प्रजिअ शर्माले बताउनुभयो ।
सीमा प्रहरी चौकी लोमन्थाङका सई डोलराज भण्डारीले कोरला नाका क्षेत्र र माथिल्लो पहाडी डाँडाहरुमा हिउँ बेलुका परेको बताउनुभयो । भण्डारीका अनुसार हिउँ बस्ती सम्मै नआएको भए पनि डाँडाहरुमा पर्दा पनि चिसो भने अलिक बढेको छ ।