एमालेलाई गुटबन्दीमा पस्नु छैन: ओली
विराटनगर – नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले सर्वोच्च अदालतको नाममा राजनीति भइरहेको भन्दै प्रधानन्यायाधीशको विषयमा अहिले देखिएको विवादमा कसैको पनि पक्षधरता नलिने बताउनु भएको छ ।
सत्ता पक्षसँगको साँठगाँठका कारण विवादमा आएका प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराको नागरिक समाज र कानुन व्यावसायीले राजीनामा माग गरिरहेका छन् । यस विषयमा सत्ता पक्षका नेताहरु मौन छन् ।
प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पनि यो विवादमा कसैको पनि पक्षधरता नलिने बताउनु भयो । सोमबार प्रेस चौतारी मोरङले विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा एमाले अध्यक्ष ओलीले प्रधानन्याधीशको राजीनामा नमाग्ने र महाअभियोगको माग पनि नगर्ने संकेत गर्नु भयो ।
प्रधानन्यायधीशलाई महाअभियोग लगाउने कुनै कुरा छ कि भन्ने पत्रकारको प्रश्नमा उनले अदालत भित्र भइरहेको दाउपेच र गुटबन्दीमा नपस्ने बताउनु भयो । ‘अहिले जुन राजनीति सर्वोच्चको नाममा भइरहेको छ त्यस प्रकारको होइन । हाम्रो चिन्ता सर्वोच्च अदालतलाई जनताले विश्वास गर्ने, राज्यको एउटा विश्वसनीय र महत्वपूर्ण अङ्गको रुपमा राख्ने हो,’ ओलीले भने, ‘हामीलाई दाउपेचमा पस्नु छैन, सर्वोच्च अदालत भित्रको अशोभनीय गुटबन्दीमा पस्नु छैन ।’
‘राजीनामा दिनुपर्छ कि पर्दैन भन्ने त्यस विवादमा कतै पट्टी पक्षधरता एमालेले जनाउनुपर्ने होइन, उनले भने, ‘हामीलाई त निष्पक्ष न्यायालय चाहिएको हो ।’ उनले अदालत स्वतन्त्र रहनुपर्ने र संविधानअनुसार चल्नुपर्ने बताउन भयो ।