फुटबलका मुख्य प्रशिक्षक अलमुताइरी काठमाडौं आइपुगे
काठमाडौं– राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षक कुवेती अब्दुल्लाह अलमुताइरी शनिबार काठमाडौं आइपुग्नु भएको छ ।माल्दिभ्समा सम्पन्न साफ च्याम्पियनसिपमा नेपाली टोलीलाई फाइनलसम्मको यात्रा तय गराएका अलमुताइरी त्यहींबाट कतार जानु भएको थियो ।
साफ च्याम्पियनसिपमा नेपाललाई पहिलो पटक फाइनल पुर्याएपछि उनले मुख्य प्रशिक्षकबाट राजीनामाको घोषणा गरेका थिए। त्यतिबेला उनले कहिल्यै नेपाल नफर्किने बताउनु भएको थियो । तर, अखिल नेपाल फुटबल संघ (एन्फा) अध्यक्ष कर्मा छिरिङ शेर्पाले अलमुताइरी र कतार फुटबल संघसँग सहकार्य गरेपछि उहाँ नेपाल फर्किनु भएको हो ।
२८ वर्षको साफ च्याम्पियनसिपको इतिहासमा नेपाललाई फाइनल पुर्याउने उनी पहिलो प्रशिक्षक बन्नु भएको छ । असोज ३० गते भएको फाइनलमा नेपाली टोली भारतसँग ३–० ले पराजित भएको थियो। अलमुताइरीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एन्फाका सदस्यसमेत रहेका नेपाली टोलीका व्यवस्थापक मधुसूदन उपाध्याय र रुपेश अधिकारीले स्वागत गर्नु भएको थियो ।नयाँ सम्झौताअनुसार उहाँ २०२४ सम्म नेपाली टोलीको प्रशिक्षक रहनुहुने छ ।