तिहारलगत्तै शिक्षक सेवा आयोगको विज्ञापन खुलाउने तयारी
काठमाडौं -शिक्षक सेवा आयोगले तिहारलगत्तै स्थायी शिक्षकको विज्ञापन खुलाउने तयारी गरेको छ ।तिहार लगत्तै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलसँग छलफल गरी विज्ञापन खोल्ने तयारी रहेको आयोगका सूचना अधिकारी सुदर्शन मरहट्टाले जानकारी दिनु भयो ।
उहाँले भन्नु भयो ‘हामी तिहारलगत्तै मन्त्रीज्यूसँग एक पटक छलफल गरेपछि विज्ञापन खुलाउने आन्तरिक तयारीमा छौं ।’आयोगलाई शिक्षा तथा मानव स्रोत विकास केन्द्रले बुझाएको तथ्यांक अनुसार तीन तहमा १७ हजार बढी विषयगत शिक्षक पद रिक्त भएको छ ।नियमावली संशोधन नहुँदासम्म वार्षिक कार्यतालिका सार्वजनिक गर्न र शिक्षक बढुवाको लागि विज्ञापन खुलाउन भने समस्या हुने आयोगले जनाएको छ ।
संस्कृतमा निमावितर्फको पाठ्यक्रम नबन्दा शिक्षक दरबन्दीका लागि विज्ञापन खोल्न समस्या भएको आयोगले जनाएको छ ।आयोगका सूचना अधिकारी सुदर्शन मरहट्टाले भने, ‘हामीलाई अहिले संस्कृत तर्फको पाठ्यक्रम नबनेर समस्या भएको छ । पाठ्यक्रम बने पनि तीन महिनाअघि लागु नहुने नियमले समस्या परेको छ ।’ बाँकी रहेको पाठ्यक्रम बनाउन थालिएको सूचना अधिकारी मरहट्टाले जानकारी दिनु भयो ।