Connect with us
Kapilvast Forest

विश्वकै अग्लो ‘हाईड्रोलिक स्विङ’ सञ्चालन

२०७८, १८ कार्तिक बिहीबारमा प्रकाशित

 

पर्वत – पर्यटकीय गन्तव्यका रूपमा चिनिँदै आएको पर्वत सदरमुकाम कुश्मामा साहसिक पर्यटनमा रमाउनेहरूका लागि फेरि अर्को नयाँ खेल थपिएको छ ।विश्वकै दोस्रो अग्लो बन्जी जम्प र सुपरम्यान शैलीको दोस्रो लामो जिपलाइन रहेको यहाँ अर्को साहसिक खेलका रूपमा ’विश्वकै सबैभन्दा अग्लो’ ‘हाइड्रोलिक स्विङ’ (पिङ ) सञ्चालनमा ल्याइएको हो ।

द हार्नेस प्रालिले कालीगण्डकी नदीमा बन्जी जम्प र जिपलाइनको बीचमा पर्ने गरी पिङ पनि सञ्चालन गरेको हो । सुपरम्यान जिपलाइन १४ सय ८० मिटर लामोे छ ।रु.८० लाखको लगानीमा पिङ निर्माण गरिएको कम्पनीका कार्यकारी निर्देशक सुनिलसिंह बानियाँले बताउनुभयो । जमिन बलियो पार्नका फाउन्डेसनमा मात्र रु.५० लाख खर्च गरिएको छ ।

“हामीले रू १५ करोडको लगानीमा जिपलाइन निर्माण गरिरहेका छौँ । यसैको साथमा फेरि रु.८० लाखको लगानीमा हाइड्रोलिक स्विङ सञ्चालन गर्याैं ।यसले पनि पर्वतको पर्यटनमा अर्को नयाँ आयाम थप्ला भन्ने लागेको छ,” उहाँले भन्नुभयो, “अब पर्वत साहसिक खेलको जिल्लाको रूपमा चिनिएको छ ।”

यस्तै खालका स्विङ यसअगाडि युनाइटेड स्टेट, चाइना र साउथ अफ्रिकामा बनेका भए पनि पर्वतमा सञ्चालित स्विङ भने विश्वकै सबैभन्दा अग्लो ५२ फिट उचाइको हुने उहाँको भनाइ थियो ।

नेपालमा अहिलेसम्म सञ्चालनमा रहेका पिङलाई हातले तान्ने वा घिर्नी र डोरीको सहायतामा तानेर छाड्ने खालको रहेकामा हाइड्रोलिक पिङमा भने डोरी र घिर्नी नभई विद्युतीय उपकरण प्रयोग गर्न लागिएको छ ।

उपकरण निश्चित गतिमा चल्ने भएकाले अरू डोरीको पिङजस्तो सुरूमा चर्को र विस्तारै गति कम हुँदै जाने हाइड्रोलिक पिङमा नहुने भएकाले निश्चित समयमा निश्चित पटक मात्रै मच्चिने र हरेक पटक पार गर्ने दूरी पनि बराबर नै हुने ‘द हार्नेस प्रालि’ का अध्यक्ष विदुर पौड्यालले बताउनुभयो ।

स्विङमा चिनियाँ प्रविधि र सामाग्री प्रयोग गरिएको
“यो अटो अपरेटेड स्विङ हो, अरूमा जस्तो गति तलमाथि यसमा हुँदैन । एक मिनेटमा १२ पटक मच्चिने यो पिङ ९० डिग्री कोणसम्म सिधा हुन्छ,” उहाँले भन्नुभयो, यो स्विङमा चिनियाँ प्रविधि र सामाग्री प्रयोग गरिएको छ । नेपालमा यस्ता पिङ नबनेकाले पनि धेरै आन्तरिक तथा बाह्य पर्यटकलाई यसले लोभ्याउने आस गरेका छौँ ।”

निर्माण कम्पनीका अनुसार पिङमा एक पटकमा चारजनासम्म बसेर खेल्न मिल्ने छ । पिङ मच्चिएको अवस्थामा कालीगण्डकी किनारमा रहेको डरलाग्दो भीरमाथिको भागमा सिधा भएर बसेको अवस्थामा देख्न सकिन्छ ।

यो पिङ र जिपलाइनको परीक्षणसमेत सफल भएकाले केही दिनभित्रै दुवै साहसिक खेलको औपचारिक तथा व्यावसायिक सुरूवात गर्ने तयारीमा कम्पनी रहेको छ ।

पर्वतमा बढ्दै गएका साहसिक खेलले जिल्लामा पर्यटकको आकर्षण गरिरहेका बेलामा केही दिनमा नै यसलाई पनि व्यावसायिकरूपले सञ्चालनमा ल्याउन लागिएको ती सबैले झनै आकर्षण बढाउने कुश्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशीले बताउनुभयो ।

कुनै बेला बाटो हिँड्नसमेत डर लाग्ने र जति बेलै पनि बाँदरको मात्र बथान देखिने कालीगण्डकीको भीरमा बनेका साहसिक खेल तथा पर्यटकीय गन्तव्यले जिल्लाको आर्थिक, सांस्कृतिक तथा पर्यटकीय विकासमा महत्वपूर्ण टेवा पुग्ने उहाँको भनाइ थियो ।

“जिपलाइन, बन्जी र पिङ अन्यत्र पनि नभएका त कहाँ हुन् र ! तर यहाँको खेलमा छुटृै विशेषता छ, विश्वमै रेकर्ड राख्ने खालका खेल यहाँ खेलिने भएकाले विश्वको ध्यान नेपालमा र त्यसमा पनि पर्वतमा मोडिएको छ,” नगरप्रमुख जोशीले भन्नुभयो, “स्थानीय तहले नै लगानी गरेर बनाउन यति ठूलो रकम हामीसँग हुँदैन । यस्तै खालका अन्य पर्यटकीय सम्भावना खोजी गरी लगानीको वातावरण तयार पार्नु हाम्रो बाध्यता हो ।”

 

Read more https://nayasanchar.com/the-worlds-tallest-hydraulic-swing-operation/

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu