पाल्पामा नेपाल संवत् मनाइयो
पाल्पा — पाल्पाको तानसेन लगायत ग्रामीण भेगमा नेवार समुदायले नेपाल सम्वत् ११४२ को स्वागतमा र्याली निकालेका छन् । पासा खःल तानसेनले शंखधर साख्वाःको सालिकमा मार्ल्यापण गर्दै नेपाल सम्वत्का विशेषता जानकारी गराउँदै तानसेन नगर क्षेत्रमा परिक्रमा गरेको हो ।
तानसेनको टुंडिखेलमा शंखधर साख्वाःको सालिक रहेको छ । ग्रामीण भेगमा बसोवास गर्ने नेवार समुदायले पनि नेपाल सम्वत्को स्वागतमा विभिन्न कार्यक्रम गरेको पासा खःल पाल्पाका अध्यक्ष देवेन्द्रमान शाक्यले जानकारी दिनु भयो ।
नेपाल सम्वत्का विषयमा पासा खःलका संस्थापक छत्रराज शाक्यले जानकारी गराउँदै यो सबैको सम्वत् भएको बताउनु भयो । नेपाली जनतालाई ऋण मुक्त बनाउने राजाले चलाएकाले यो सबैको नेपाल सम्वत् भएको उहाँले बताउनु भयो । कतिपयले नेवारी सम्वत् भन्ने गरेपनि त्यस्तो नभएको देवमान बज्राचार्यले बताउनु भयो ।
तानसेनका बजार क्षेत्रमा नगरपरिक्रमा, धिमेबाजा प्रदर्शन गरियो । बिहानैदेखि तानसेनमा नेवारी समुदायसँग सम्बन्धित संघसंस्थाले विभिन्न कार्यक्रम गरेका छन् । पाल्पाकै रामपुर, आर्यभन्ज्याङ्, हार्थोक लगायतका स्थानमा पनि नेपाल सम्वत्को स्वागतमा विभिन्न कार्यक्रमहरु भएका छन् ।