घाइते पैदलयात्रीको परिचय नखुल्दा उपचारमा समस्या
तनहुँ – बुधबार बिहान बसको ठक्करबाट घाइते भएका पैदलयात्रीको परिचय खुल्न नसक्दा उपचारका लागि समस्या भएको प्रहरीले बताएको छ ।पृथ्वी राजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१ तालघरेमा अचेत अवस्थामा भेटिएका ती पुरुषको अहिले पोखरास्थित मणिपाल अस्पतालको आईसीयू कक्षमा उपचार भइरहेको छ । डुम्रेबाट दमौलीतर्फ आउँदै गरेको ना ६ ख ५०३१ नम्बरको बसले पैदलयात्रीलाई ठक्कर दिँदा उहाँ सख्त घाइते हुनु भएको थियो ।
अचेत रहेकाले उहाँको हालसम्म पनि नामथर खुल्न सकेको छैन । यसकारण उपचारमा पनि समस्या आएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सेनाले जानकारी दिनु भयो ।
अन्दाजी वर्ष ३५–४० को देखिने ती पुरुषको अनुहार र टाउकोमा गम्भीर चोट लागेको छ । तिमिल्सेनाले भन्नु भयो , ‘हामीले आफ्नो क्षेत्रबाट घाइतेका आफन्तजनको खोजी गरिरहेका छौं तर भेटाउन सकिरहेका छैनौं ।’
घाइते अवस्थामा सडकमा भेटिएका उहाँलाई प्रहरीको सहयोगमा तत्काल रत्नहरि अस्पताल दमौलीमा ल्याएर उपचार गराइएकोे थियो । स्वास्थ्य गम्भीर हुँदै गएपछि सो अस्पतालमा मात्र उपचार सम्भव नभएकाले उहाँलाई पोखरा पठाइएको थियो ।