चन्द्रौटामा दुई पसलमा आगलागी,९० लाख बढीको क्षति
माधव बेल्वासे,कपिलवस्तु-कपिलवस्तुको चन्द्रौटामा गएराती आगलागी हुँदा ९० लाख बढीको क्षति भएको छ । शिवराज नगरपालिका ५ चन्द्रौटा चोक देखि एक सय मिटर देखि पश्चिममा रहेका दुई पसलमा राती करिब १० बजे आगो लागेको स्थानीयहरूले बताएका छन् ।
चन्दौटा फिक्स सप र सगै रहेको ल्यापटप हस्पिटल तथा सेल्स पसलमा आगोलागि भएको वडा प्रहरी कार्यालय चन्द्रौटाले जानकारी दिएको छ ।
आगोलागि बाट दुवै पसलका सबै सामाग्री नष्ट भएका छन् ।
दुवै पसलमा गरी ९० लाखको क्षति भएको अनुमान रहेको छ । फेन्सी पसलको ५० लाख र कम्प्युटर पसलको ४० लाख बढीको सामाग्री जलेको सञ्चालकहरूको भनाई छ ।
आगो नेपाल प्रहरी, सशस्त्र प्रहरीको टोली स्थानीय र दमकलको सहयोगमा करिव दुई घण्टा पछि नियन्त्रणमा आएको थियो । आगलागी बाट भएको क्षतिको विवरण प्रहरीले सङ्कलन गरिरहेको छ । आगलागीको यकिन कारण भने खुल्न नसकेको प्रहरीले जनाएको छ । कम्पियुटर पसल भित्रको बिजुलीको तार सट भएर आगलागी भएको हुनसक्ने अनुमान गरिएको छ ।