एमालेको महाधिवेशन अगाडि मालेले चितवनमै महाधिवेशन गर्ने
चितवन-नेकपा (माले)को आठौं राष्ट्रिय महाधिवेशन चितवनमा हुने भएको छ। मालेको महाधिवेशन यही कात्तिक २७ गतेदेखि २९ गतेसम्म चितवनको नारायणी कला मन्दिरमा महाधिवेशन गर्न लागिएको हो।
महाधिवेशन मूल व्यवस्थापन समितिले चितवनमा पत्रकार सम्मेलनको आयोजना गरी महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको जनाएको हो।समितिका संयोजक एवम् मालेका स्थायी कमिटी सदस्य दीननाथ घिमिरेका अनुसार महाधिवेशनका लागि आवश्यक सबै प्रक्रिया पूरा भइसकेको छ।
मालेका महासचिव सिपी मैनालीद्वारा उद्घाटन हुने सो महाधिवेशनमा देशभरका ३५० प्रतिनिधि सहभागी हुने पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो।यसअघि नेकपा एमालेले चितवनमा मंसिर १० बाट महाधिवेशन गर्ने तय गरिसकेको छ। त्यसअगाबै मालेले चितवनमै महाधिवेशन गर्ने जनाएको हो।
गत वैशाखमा गर्ने भनिएको महाधिवेशन कोरोना कहरका कारण सारिएको भन्दै उहाँले स्वास्थ्य मापदण्ड पालनाका लागि थोरै प्रतिनिधिका बीच महाधिवेशन गर्न लागिएको जानकारी दिनु भयो ।
यस महाधिवेशनले ७५ सदस्यीय केन्द्रीय समिति निर्वाचित गर्नेछ। सोही समितिले पोलिटब्यूरो सदस्य, स्थायी कमिटी र महासचिव निर्वाचित गर्नेछ।महाधिवेशनमा नेपालको क्रान्तिको कार्यक्रम (नयाँ जनवाद), राजनीतिक प्रतिवेदन, नेपाल चिन्तन, मालेको सङ्गठनात्मक प्रस्ताव(प्रतिवेदनमाथि छलफल गर्नेछ।
यस्तै, पार्टीको तत्कालीन कार्यनीति, अर्थनीति, राष्ट्रिय(अन्तर्राष्ट्रिय प्रस्ताव, पार्टीको विधान ९परिमार्जनसहित पारित गर्ने घिमिरेले जानकारी दिनु भयो ।उनका अनुसार पार्टीको महाधिवेशनमा हालको राज्य व्यवस्था असफल भएको विषयमा बृहत् छलफल हुनेछ। अहिलेको सङ्घीयताका कारण जनतामा परेको समस्या विशेष प्राथामिकतामा रहने उहाँले बताउनु भयो ।
‘महाधिवेशनमा प्रादेशिक संरचनाको विषयमा छलफल हुनेछ,’ उहाँले भन्नु भयो ।प्रदेशका संरचना हटाएर स्थानीय तह र जिल्लालाई अधिकार दिने विषयमा विशेष निर्णय गरिने उहाँले बताउनु भयो ।