योगेश्वर अमात्यको नक्कली धनीपूर्जा प्रकरणमा राष्ट्र बैंकले पनि थाल्यो छानविन
काठमाडौं – गायक योगेश्वर अमात्यको बाराको जग्गाको नक्कली धनी पूर्जा बनाएर कर्जा प्रवाह गरिएको प्रकरणमा नेपाल राष्ट्र बैंकले पनि छानविन थालेको छ ।
राष्ट्र बैंकका सहायक प्रवक्ता नारायणप्रसाद पोखरेलले कुमारी बैंकमा ‘अनसाइट इन्स्पेक्सन’ टिम खटिएको बताउनु भयो । बैंकले ऋण प्रवाहमा जोडिएको कुमारी बैंकको न्यूरोड, बारा शाखा र नक्सालस्थित मूख्य कार्यालयबाट कागजात जफत गरेर छानविन गर्नेछ ।
कीर्ते गरेर १९ करोड रुपैयाँ ऋण प्रवाह गरिएको विषयमा ‘सरकारी लिखत कीर्ते’ तर्फ प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले अनुसन्धान गरिरहेको छ । त्यसमा संलग्न ५ जनालाई पक्राउ पनि गरेको छ ।
सीआईबीका निर्देशक धिरजप्रताप सिंहका अनुसार बैंकले जाहेरी नदिएकाले कीर्तेमा मात्र अनुसन्धान भइरहेको हो । तर राष्ट्र बैंकले बैंकिङ कसूरमा पनि अनुसन्धान गर्न सुझाए त्यसतर्फ पनि अनुसन्धान हुने उहाँले बताउनु भयो ।
राष्ट्र बैंकका सहायक प्रवक्ता पोखरेल चाहिँ कुमारी बैंकको प्रकरणबारे ढिला मात्र जानकारी भएकाले हालै छानविन थालिएको र निष्कर्ष जे आउँछ, त्यसलाई कार्यान्वयनमा लगिने बताउँनु भयो ।
गायक अमात्यले आफ्नो जग्गाको नक्कली धनी पूर्जा बनाएर ऋण प्रवाह गरिएको थाहा पाएपछि दशैंअघि सीआईबीमा जाहेरी दिनु भएको थियो । त्यसपछि प्रकरणमा अनुसन्धान भइरहेको छ ।