रौतहट कारागारमा कैदी झुण्डिएको अवस्थामा मृत फेला
रौतहट – जिल्ला कारागार रौतहटमा एक कैदी मृत अवस्थामा फेला पर्नु भएको छ । देवाही गोनाही नगरपालिका–७ का लडाइ साह कारागार भित्रको शौचालयमा झुण्डिएको अवस्थामा फेला परेका कारागाराका निमित्त प्रमुख शम्भुप्रसाद यादवले बताउनु भयो ।
२०७६ वैशाख ४ मा कारागार चलान भएका साहलाई जिल्ला अदालत रौतहटले अपहरण, शरीर बन्धक तथा जबर्जस्ती करणी मुद्दामा २१ वर्ष कैद तथा ३० हजार रुपैयाँ जरिवाना सजाय सुनाएको थियो ।
बुधबार साह शौचालय गएर लामो समयसम्म नआएपछि कैदी बन्दीहरु हेर्न जाँदा झुण्डिएको अवस्थामा फेला परेका कारागारका निमित्त प्रमुख यादवले बताउनु भयो ।
‘कारागारभित्रकै शौचालयमा उहाँ झुण्डिएको अवस्थामा अरु कैदीले देखेका रहेछन्, उहाँले भन्नु भयो , ‘शौचालय भित्र तौलियाले पासो लगाएको अवस्थामा फेला परेका साहलाई हामीले तत्कालै अस्पताल पुर्याएका थियौं ।’
तर जिल्ला अस्पताल गौरमा ल्याउँदा मृत्यु भइसकेको अस्पताले जनाएको छ । कैदी मृत्युको घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।